स्वास्नी मान्छेहरू किन प्रेम एउटासँग र बिहे अर्कैसँग गर्छन्? जबकि अन्तिम सास रहुन्जेलसम्म पहिलो प्रेमलाई भुल्न सक्दैनन्। म मान्छु– आकर्षण कैयौँमा हुनुसक्छ। तर, समर्पण त एउटैमा हुनुपर्ने हैन र! स्वयं भगवान प्रकट भइ भनेको भएपनि मैले विश्वास गर्ने थिइनँ।
तर, आज आफ्नै आँखाले देखेँ। बिहानपख कार्यालयका लागि विलम्ब भैरहेको थियो। मैले हतारमा आफ्नो परिचय–पत्र घरमै बिर्सिए छु। आधा–बाटो पुगेपछि याद भाे अनि घर फर्के। हतार–हतारमा घर पुगी मुख्य गेटकाे ढोका खोले। नजानुपर्ने मेरा निर्दाेष आँखा बरन्डामै ठाेकिन पुगेछन्।
आफ्नी श्रीमतीलाई पर–पुरुषको अंगालोमा देखेँ। आकाश खसे झैँ भाे। जमिन भासिएजस्तै लाग्याे। हातखुट्टा लकलक काँप्न थाल्छन्। शरीरबाट खलखल पसिना निस्के। मुटुकाे रक्तसञ्चार रोकियाे। प्यास लागेजस्तो या सास फेर्न गाह्रो भएजस्तो भैसक्याे। म आफ्ना कदम पछाडि मोड्छु।
र, केही पर पुगेपछि एउटा रूख मुनि गएर सास अघाउन्जेल फेर्छु। तर, त्यहीँ दृश्य मेरा आँखामा फनफनी नाचिरहन्छ। दाइने हात रूखमा समातेर उभिएको छु। र, पनि मेरा दुई पाउ मेरो शरीर धान्न सक्ने अवस्थामा हुँदैनन्। म त्यहीँ रूखमा आडेस लागेर जमिनमा थचक्क बस्छु– पुर्पुरोमा हात राखी।
‘तँ अफिस गएपछि तेरो घरमा एउटा लोग्नेमान्छे आउँछ,’ भेटैपिच्छे धिताल ‘बा’ भन्थे। जब म बाटोमा हिँडिरहेकाे हुन्थे। मैले उनका कुराको वास्तै गरिनँ। म जहिल्यै हाँसेरै टारिदिन्थेँ। वास्तवमा म रिसाउनुपर्ने हो। हैन र! तर खै! मलाई उनका कुरा सुनेर कहिल्यै रिस उठेन।
मेरी श्रीमतीप्रति स्वयं आफ्नो आत्मा भन्दा अधिक विश्वास थियो। एक त बुढाको मानसिक सन्तुलन ठीक छैन। आफ्नै मन मिल्ने साथीसँग श्रीमती पोइला गएदेखि बौलाएका हुन्– बुढा। वर्षाैअघि त्याे जमानामा इन्जिनियरिङ पढेका धिताल ‘बा’। बर्मामा भएका नेपालीहरू मध्ये सर्वाधिक धनीहरूको सूचीमा गनिन्थे। आधा सम्पत्ति श्रीमतीले लुटेर गइन्।
बाँकी रहेको आधा सम्पत्ति आफ्नै दाजुभाइले हडपे। यहाँ एउटै आमाकाे कोखबाट जन्मिएका दाजुभाइ त आफ्ना हुँदैनन्। दोबाटोमा भेटिएकी स्वास्नी मान्छेको के भरोसा। केही बेर–सम्म म त्यहीँ रूख मुनि बसेँ ।कार्यालयबाट म्यानेजर र फोन लगातार आइरहेको थियो। आजको दिन कार्यालय पुग्न नसक्ने जानकारी दिएर मोबाइल स्वीचअफ गरिदिएँ।
थाहा छैन! म कतिखेर त्यो रूख मुनिबाट सुलेको ‘ग्यालरी बार’मा पुगेँ। बोतलको सराब जति रित्याउने कोशिश गर्छु, आफूलाई आफैं त्यति नै रित्तो महसुस गरिरहन्छु। बेसहारा। निमुखा। आफूलाई एकदम एक्लो पाउँछु। मानौं– यो दुनियाँमा स्वयं म मेरो रहिनँ। त्यहिँ बखत एउटी केटी छेउमै आइपुग्छे।
उमेर २२–२३। मेरै टेवलमा बसी। खैरो मिनी स्कर्ट र सेतो टिसर्ट मा थिइ, ऊ। पातलो शरीर भएकी, गहुँ–गोरी, लाम्चो अनुहार, हल्का खैरो कपाल। दुई केस्रा कपाल राशी गालाको दुईतिर झरेका थिए, उसका। ट्राफिक सिग्नल जस्तै थियो– उसको लिपिस्टिक, एकदमै रातो।
उसको हुलिया हेरेरै अनुमान गर्न सकिन्छ कि, ऊ पुरुष जातीको भोग मेटाएर आफ्नो भोक मेट्ने स्त्री हो। म आफैंलाई सम्हाल्न नसक्ने भएको थिएँ। उसैले सम्हालेर मलाई होटेलसम्म लिएर गई। साच्चै! किन यति धेरै कमजोर हुन्छन् पुरुषहरू? उनीहरू लाई प्रत्येक मोडमा एउटी नारीको जरुरत पर्छ-पर्छ।
ऊ मेरो छेउमा मौन मूर्ति बनेर बसिरहेकी छे। मलाई उसको नाम थाहा छैन। बस्! दाम थाहा छ। ‘एक लाख बीस हजार।’ यो उसको एक रातको किमत हो। कोठामा गुलाफी रङ्गको बत्ती मधुरो बलेको छ। निभेको त म छु। अन्धकार छ– मेरो संसार। घात भएको छ मेरो विश्वास।
टुक्रै–टुक्रा भएर टुटेको छु, म। जसलाई केही क्षणकै निम्ति भएपनि जोड्ने प्रयासमा थोरै नजिकिँदै ऊ सोध्छे ‘केही गर्नु हुन्न?’म उसको प्रश्नको जवाफ करिब सात सकेन्ड पछि फर्काउँछु, ‘मेरो मन छैन।’ ‘त्यसो भए म जान्छु,’ ऊ जुरुक्क उठेर टेवल माथिको आफ्नो मोबाइल टिप्छे।
म उसको देब्रे हात समाउँछु, आशावादी नजर सहित। सायद मेरो आँखाले उसलाई नजाऊ भनिरहेका हुन्छन्। मोबाइल पुनः टेवल माथि राखेर केही नबोली ऊ मेरो छेउमा आएर टुसुक्क बस्छे। ‘मेरो टाउको दुखेको छ, दबाइ दिन्छौ?’ मैले यो प्रश्न उसलाई नम्रता पूर्वक सोधेको थिएँ। तर उसले मना गरी। र भनी, ‘त्यो मेरो काम हैन।’
मलाई झनक्क रिस उठ्यो। आँखा जुधाएरै सोधेँ, ‘त्यसो भए तिम्रो काम के हो?’उसले जवाफ दिन जरुरी ठानिन। केहीबेरको मौनता पश्चात् सिरानीलाई काखमा राखेर आफूतिर इशारा गर्दै उसले भनी, ‘आउनुस्।’मैले आफ्नो शीर उसको काखमा लगेर राखिदिएँ। त्यो रात म उसैको काखमा निदाएछु। बिहान मैले आँखा खोल्दा उसले कोठा छोडिसकेकी थिई।
आइतबारको दिन थियो। कार्यालय बिदा। म आफ्नै घर फर्किएँ। घरको आगनमा कदम राख्दा, मनमा केही किसिमको डर प्रभावित भइरह्यो। घरको ढोका ढप्काएको मात्र थियो। मैले ढोका विस्तारै खोलें। ऊ सोफामा निदाएकी थिई। ऊ अर्थात् मेरी श्रीमती तर अर्काकी प्रेमिका। अर्थात् ‘सन्ध्या!’
सायद, मैले खाेलेकाे ढोका आवाजले उसको निन्द्र भङ्ग भयो। आँखा खोल्नासाथ एकैचोटी श्रीमतीको हक जताउन लागि ऊ। ‘हिजो कहाँ जानुभएको थियो? कतिपटक फोन गरें।’मैले ‘अफिस’मा काम परेर उतै रात बिताएकाे बताएँ। र, भने, ‘चार्जर घरमा बिर्सिएको कारण मोबाइलको बैटरी डाउन भएको थियाे।’
म आफ्नी श्रीमतीसँग पहिलोपटक झूट बोल्दै थिएँ। तर, उसले विश्वास गरी।लगतै–लगतै मलाई झूट बोल्ने बानी पर्न थाल्यो। बानी भन्दा पनि झूट बोल्नुपर्ने मेरो बाध्यता जो थियो। कार्यालयबाट म प्रायःजसो घर अबेर आउन थालेको थिएँ। कहिलेकाहीँ घर आउँनै मन लाग्दैन्थ्याे। घर फर्केर आएको दिन अक्सर पिएको हुन्थें।
परन्तु नशामा हुँदा पनि मैले उसलाई हात लगाउन त दूर, गालीसमेत गरिनँ। मेरो मुखबाट अ’ श्लील शब्द कदापि प्रहार भएनन्। मैले उसको चरित्रमा सवाल कहिल्यै उठाइनँ। त्याे दिन! अर्थात् एकदिन म ‘अफिस’बाट घर फर्केर आउँदा, ऊ कोठामा बसेर रोइरहेकी थिई। मैले उसका दुवै हात समाएर ऊ रोएको कारण जान्न चाहेँ।
उसले आँसु पुछ्दै भनी, ‘केही भएको छैन।’ जब आइमाईमान्छेहरू मुखबाट केही भएको छैन, भन्छन्। तब उनीहरूको मनमा धेरै कुरा भइरहेको हुन्छ। उसका आँखाका आँसु मेरो जीवनका एक मात्र कमजोरी हुन्। म उसका आँखामा आँसु देख्न सक्दिनँ। मैले उसलाई आफ्नो सामिप्य खिचेर अँगालोमा लिन्छु।
तब ऊ थोरै शान्त हुन्छे। प्रायः जसो म कार्यालयका लागि बिहान ८ बजे घरबाट निस्कन्छु। म घरबाट निस्किएको करिब एक घन्टापछि त्यो मान्छे मेरो घरमा आउँछ। कार्यालयबाट छुट्टी लिएर कैयौँपटक उसको पिछा गरेको छु– मैले। ऊ मलाई देख्नासाथ आफ्नो अनुहार छोप्छ।
टेलिकम अपरेटरमा काम गरिरहेको मलाई, आफ्नी श्रीमतीको फोनमा आएका अप्रत्यक्ष नम्बरको पत्ता लगाउन त्यति गाह्राे भएन। उसको फोन नम्बर, नाम र ठेगाना थाहा भएपछि, उसको घर छिमेकी द्वारा उसले पढेको कलेज पत्ता लगाएँ। उसको र मेरी श्रीमतीको कलेज एउटै थियो, सेम ब्याच।
ब्याचलरको अन्तिम वर्षमा उनीहरूको अफयर चलेको रहेछ। र, कलेज सकिएपछि ब्रेकअप भएको थियो। यो खबर मेरी श्रीमतीकी कलेज साथी श्रुतीबाट थाहा पाएँ। चाहन्थें– मैले थाहा नपाउने गरि उसले घर छोडेर गए हुन्थ्यो। यदि ऊ सक्छे भने यो शहर नै छोडे हुन्थ्यो।
तर उसले मेरो घर छोड्न नपाउँदै उसको प्रेमीले उसलाई छोडेर गयो। हिजो मात्रै ऊ थाइल्यान्ड गएको खबर मैले उसका छिमेकीहरूबाट थाहा पाएको थिएँ। त्याे दिनदेखि म आफ्नी श्रीमतीको अनुहार सधैं अन्धकार देख्थेँ। ऊ एकान्तमा रमाउन थालेकी थिई।
दुई–तीन चम्चा भात खाएर अघाएँ भन्थी। कहिलेकाहीँ मन छैन भन्थी। मध्यरातमा मणि हराएकी नागीन झैं छट्पटाइ रहन्थी। मलाई उसको पत्ताे नभएको हैन। तर, म उसैको हालतमा छोडिदिन्थें। एकदिन कार्यालयबाट घर फर्केर आउँदा, म उसलाई भान्सा–घरमा बेहोसी अवस्थामा देख्छु।
‘कतै उसले आ’ त्मह’ त्या त गरिनँ।’ शंका लागेर हतपत मैले उसको नाडी छामेँ, धन्न धड्कन भेटियो। घाँटीमा पनि छामेँ, निश्चित हुनका लागि। सास बाँकी नै थियो। मैले उसलाई अस्पताल लिएर गएँ। केहीबेर पछि कोठाबाट डाक्टर बाहिरिएर मलाई बधाई दिन्छ।
म केही बुझ्न सक्दिनँ। मनमा केही त्रास र अभिलाषा बोकेर म कोठाभित्रै पस्छु। सन्ध्या मलाई आफ्नो सामीप आउन इशारा गर्छे। म केही नबोली उसको छेउमा गएर बस्छु। ऊ मेरो दाइने हात आफ्नो पेटमा राख्दै भन्छे, ‘म आमा बन्दै छु।’ ‘म बाउ बन्दैछु!’
यो कुरा सुनेर किन मेरो मुटुले आफ्नो रफतार बढाउँदैन? के मेरी श्रीमतीको पेटमा हुर्किरहेको बच्चा मेरो सन्तान हैन?मेरो मनमा आएका शंकालु प्रश्नहरूले मस्तिष्कलाई लगातार झटारो हानिरहेका थिए। जवाफ मैले आफ्नी श्रीमतीका आँखामा पढेँ। म यो कथाको अन्त्य चाहन्न…
Leave A Comment