फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच भएको खेलमा क्रोएसियाले २ – १ ले हराउदै तेश्रो बनेको छ ।क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको हो । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो ।
क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा
उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो ।निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको
हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।
४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो ।
जितसँगै तेस्रो स्थान हासिल गरेको क्रोएशियाले २७ मिलियन अमेरिकी डलर अर्थात नेपाली करिब नगद ३५४ करोड पुरस्कार हात पारेको छ ।यस्तै चौथो स्थानमा रहेको मोरक्कोले नगद २५ मिलियन अमेरिकी डलर अर्थात नेपाली करिब ३२८ करोड हात पार्याे ।प्रतियोगिताको फाइनल आइतबार हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।
Leave A Comment