मुम्बई। आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन्। दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन्। स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन्।
फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन्। यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन्। शाहरुख लियोनल मेसीका फ्यान हुन्। शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए।
एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ?,’ भनी सोधेका थिए। शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी। तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए। शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ। यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ।
कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ। नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन्। ३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन्। व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन्।
सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो। तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो। सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ।
फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ। टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए। सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो। २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ।
Leave A Comment