Latest
img

अर्जेन्टिनाका प्ले मेकर डी मारिया फ्रान्सविरुद्ध बेन्चमा

काठमाडौं । सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपको फाइनलमा अर्जेन्टिनाले भर गरेका प्ले मेकर एन्जेल डी मारिया खेल्न सकेका थिएनन् । चोटका कारण उनले जर्मनीविरुद्धको उपाधि भिडन्त गुमाएका थिए ।

उनै डी मारियाको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनाले गत वर्ष ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । फाइनल अर्जेन्टिनाले १-० गोलले जित्दा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब तीन दशकयताको उपाधि खडेरी टारेको थियो ।अर्जेन्टिना फेरि विश्वकपको फाइनल पुगेको छ ।

आइतबार राति हुने फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सको सामना गर्दा डी मारिया मैदान उत्रन्छन् कि उत्रँदैनन् भन्ने अनुमान लगाउन गाह्रो छ ।डी मारियाले प्रि-क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनलमा क्रोएसियाविरुद्ध बेन्चमा बिताएका थिए । क्वाटरफाइनलमा पनि उनले ९ मिनेटमात्र खेले ।

समूहगत चरणका तीनवटै खेलमा उनी सुरुवाती ११ मा रहे पनि दोस्रो हाफमा सब्स्टिच्युट भएका थिए ।डी मारिया अर्जेन्टिनी टोलीका दोस्रो सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले हालसम्म अर्जेन्टिनाका लागि १२८ खेल खेल्दै २७ गोल गरेका छन् । उनले सन् २००८ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

सन् २००८ मा आयोजित बेइजिङ ओलम्पिकमा अर्जेन्टिनाले स्वर्ण पदक जित्दा डी मारिया मेस्सीसँगै टोलीका महत्वपूर्ण सदस्य थिए ।उनी सन् २००७ मा अर्जेन्टिनी यू-२० विश्व च्याम्पियन हुँदा पनि टोलीका महत्वपूर्ण सदस्य थिए ।जारी प्रतियोगितामा डी मारिया समूहगत चरणको तेस्रो खेलमा पोल्यान्डविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए ।

तर, डी मारिया पूर्णतः फिट रहेको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ।उनी सेमिफाइनलमा उत्रन सक्ने भए पनि प्रशिक्षक लियोनल स्कालोनीले रणनीतिक रुपमा बाहिर राखेको र जोखिम नमोलेको पनि उसले उल्लेख गरेको छ । चार वर्षअघि आयोजित विश्वकपमा

अर्जेन्टिनाले फ्रान्ससँग ४-३ गोलको हार ब्यहोरे पनि डी मारियाले एक गोल गरेका थिए ।कोपा अमेरिका विजेता र युरोकप विजेता इटालीबीच यसै वर्ष भएको प्रतिस्पर्धामा अर्जेन्टिना ३-० गोलले विजयी हुँदा पनि डी मारियाले एक गोल गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment