कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ। कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्।
दुवै देशले हालसम्म समान दुई विश्वकप जितेका छन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो।
मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकपसमेत हो। मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ। यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो। साविक विजेतासमेत रहेको फ्रान्स लगातार दोस्रोपटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।
यसैक्रममा फ्रेन्च स्ट्राइकर किलियान एम्बाप्पेले दक्षिण अमेरिकी फुटबलको आलोचना गरेपछि अर्जेन्टिनी गोलकिपर इमी मार्टिनेजले त्यसको जवाफ फर्काएका छन् । एम्बाप्पेले गत मेमा युरोपियन राष्ट्रहरूले ‘एक अर्कासँग उच्च स्तरको फुटबल खेलेर’ विश्वकपका लागि बढी तयार हुने बताउँदै ब्राजिल र अर्जेन्टिनाले त्यस अनुसारको तयारी नपाउने बताएका थिए ।
विश्वकपको फाइनल खेलअघि मार्टिनेजलाई सो प्रसङ्ग सम्झाउँदै पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा मार्टिनेजले भने, ‘उनलाई फुटबलबारे धेरै थाहा छैन । उनले दक्षिण अमेरिकामा कहिल्यै खेलेका छैनन् । यदि तपाईंसँग अनुभव छैन भने तपाईंले त्यसबारे नबोलेकै राम्रो । तर त्यस कुराको केही अर्थ छैन । हामीसँग उत्कृष्ट टोली रहेको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।
मार्टिनेजले मात्र होइन अर्का अर्जेन्टिनी खेलाडी लाउटारो मार्टिनेजले पनि एम्बाप्पेको टिप्पणीप्रति प्रतिक्रिया जनाएका थिए । उनले एम्बाप्पेको भनाईलाई ‘अनुचित’ भएको बताएका थिए भने ब्राजिलका पूर्व प्रशिक्षक टिटेले पनि ‘ब्राजिलले अजरबैजानसँग खेल्नुपर्दैन’ भनेर जवाफ फर्काएका थिए ।
लियोनल मेस्सीले आज विश्वकीर्तिमान बनाउँदैछन्। फ्रान्सविरुद्ध मैदानमा उत्रिने बित्तिकै उनको नाममा विश्वकीर्तिमान बन्ने छ। मेस्सीले अहिलेसम्म २५ खेल खेलेका छन्। मेसीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि निरन्तरता सहभागिता जनाइरहेका छन्। कतार विश्वकपको सेमिफाइनलमा क्रोएसियासँगको प्रतिस्पर्धामा उनले जर्मनीका लोथार म्याथ्युजको रेकर्ड बराबरी गरेका थिए ।
जारी विश्वकपमा मेस्सी उत्कृष्ट फर्ममा छन्। गोल्डेन बुटकै दाबेदारी खेलाडीको शीर्ष स्थानमा रहेका मेस्सीले पाँच गोल गरेका छन् । साथै, विश्वकपमा उनको नाममा ११ गोल पुगेको छ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसी संयुक्त रूपमा छैटौँ स्थानमा छन् । मेसीले अर्जेन्टिनी टोलीबाट एक सय ७१ खेलमा ९६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
उनकै कप्तानीमा अर्जेन्टिनाले ८ वर्षपछि (२०१४) विश्वकपको फाइनल स्थान पक्का गरेको थियो ।जर्मनीका विश्व च्याम्पियन खेलाडी म्याथ्युजले विश्वकपमा २५ खेलमा सहभागिता जनाएका थिए । म्याथ्युजको रेकर्ड हालै अर्जेन्टिनी कप्तान मेसीले बराबरी गरेका थिए।
अब म्याथ्युजले विश्वकपमा सन् १९९८ देखि राखेको कीर्तिमान आइतबार तोडिनेछ। म्याथ्युजले विश्वकपमा सर्वाधिक खेलको रेकर्ड राख्न पाँच विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। सन् १९८२ देखि १९९८ सम्म उनले जर्मनी टोलीबाट निरन्तर विश्वकपमा प्रतिस्पर्धा गरे। सन् १९८६ मा जर्मनी विश्वकपमा उपविजेता हुँदा म्याथ्युज उत्कृष्ट फर्ममा थिए।
सन् १९९० मा उनकै कप्तानीमा जर्मनीले तेस्रोपटक विश्वकप उपाधि उचाल्यो। सो फाइनलमा पश्चिम जर्मनीले अर्जेन्टिनाालाई १० ले हराएको थियो। सन् १९८० मा जर्मनी टोलीबाट डेब्यू गरेका म्याथ्युजले २००० सम्म खेले । यसक्रममा उनले एक सय ५० खेलमा २३ गोल गर्न सफल भए । जर्मन फुटबल इतिहासमा उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्नेमा पर्छन्।
Leave A Comment