आइतबारको अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनल खेलअघि चौतर्फी चर्चाको पात्र बने लियोनल मेसी र काइलियन एमबाप्पे । तर, फाइनल खेलपछि यी दुईबाहेक समर्थकको मुखमा अर्को नाम थपिएको थियो, इमिलियानो मार्टिनेज ।
रोमाञ्चक, नाटकीय र भावुक बनेको फाइनल खेलको १२० मिनेटमा अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । जसका कारण विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि पेनाल्टी सुटआउटको आवश्यकता परेको थियो । पेनाल्टीमा अर्जेन्टिनाका चार खेलाडीले प्रहारलाई जाली चुमाउँदै टिमले दिएको जिम्मेवारी पूर्ण रूपमा निभाए ।
उनीहरूबाहेक गोलकिपर मार्टिनेज फ्रान्सको लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा बाधक बने ।एमबाप्पेले खेलमा दुई पेनाल्टी सदुपयोग गरेका थिए । र, पेनाल्टी सुटआउटमा पनि फ्रान्सबाट पहिलो प्रहारका लागि जाँदै बललाई जाली चुमाए । तर, यसमा पनि मार्टिनेजले एमबाप्पेको प्रहारबारे सही दिशामा ‘डाइभ’ लगाएका थिए ।
एमबाप्पेबाट आएको कडा प्रहारका कारण बल मार्टिनेजको हातमा लागेपनि त्यो जालीको दिशा बदल्नका लागि पर्याप्त बनेन ।फ्रान्सका खेलाडीलाई अस्तव्यस्त बनाउन प्रहारभन्दा अघि ‘माइन्ड गेम’ चाल्नुअघि मार्टिनेजले दोस्रो पेनाल्टी विफल बनाउन सही दिशामा ‘डाइभ’ लगाए ।
मार्टिनेजले फ्रान्सका किङ्स्ले कोमानको प्रहारलाई जालीसम्म पुग्न दिएनन् । फ्रान्सबाट तेस्रो प्रहारका लागि आर्लियन चुवामेनी आए । दोस्रो प्रहार गोलमा परिणत हुन नसक्दा केही गह्रौँ भावसहित प्रहारका लागि आएका चुवामेनीप्रति मार्टिनेजले ‘माइन्ड गेम’ चाले ।
मार्टिनेजले रियाल मड्रिडका मिडफिल्डर चुवामेनीभन्दा पर बल फ्याके । जसका कारण चुवामेनीलाई हिँडेर बल लिन बाध्य पारे ।त्यहाँ मार्टिनेजले एक शब्द बोले । जुन यहाँ लेख्न सकिँदैन । मार्टिनेज फ्रान्सका २२ वर्षीय युवा मिडफिल्डरलाई प्रभावित बनाउँन चाहन्थे ।
मार्टिनेजको चाल सफल भयो, चुवामेनीको प्रहार बाहिरियो । त्यसपछि मार्टिनेजले सन् २०१६ मा म्यानचेस्टर युनाइटेडविरुद्ध आफ्नो टिमले गोल गरेपछि क्रिस्टल प्यालेसका प्रशिक्षक एलन पार्डिउको जस्तै कुम हल्लाउँदै ‘नाच’ देखाए ।जसले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकपछि उपाधिसम्म डोहोर्यायो ।
चुवामेनीपछि रान्डल कोलो मोआनीले चौथो पेनाल्टी गोल गरेपनि यसले दक्षिण अमेरिकी टिमको उपाधि यात्रामा गम्भीर धक्का दिन भने सकेन । यसपछि अर्जेन्टिनाबाट चौँथो प्रहारका लागि आएका गोन्जालो मोन्सियलले ह्युगो लोसिस पोस्टमा रहेपनि बललाई सहजै जालीको दिशा दिँदै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाए ।
“मार्टिनेज निकै सकारात्मक खेलाडी हुन् । पेनाल्टीका लागि जानुअघि उनले टिमका सहकर्मीलाई आफूले पेनाल्टी रोक्ने बताएका थिए,” अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले भने ।बीबीसीका खेल विज्ञहरू मार्टिनेजको ‘माइन्ड गेम’ ले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएकोमा सहमत थिए ।“पेनाल्टी सुटआउटमा मार्टिनेजको ठूलो मानसिक प्रभाव थियो ।
यसमा कुनै शंका छैन,” इङ्ल्यान्डका पूर्व मिडफिल्डर जर्माइन जेनसले भने ।इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन सेरर भन्छन्, “मार्टिनेज सधैँ फ्रान्सका खेलाडीलाई प्रभावित बनाउन चाहन्थे । उनी बल पर फ्याँकिरहेका थिए, खेलाडीहरूसँग कुराकानी गरिरहेका थिए । उनी आफूले सक्दो प्रयास गर्दै फ्रान्सका खेलाडीलाई दबाब दिन चाहन्थे ।”
इङ्ल्यान्डका पूर्व रक्षक रियो फर्डिनान्डले भने, “गोल–लाइनमा पनि उनी मुभ गरिरहेका हुन्थे । बल प्रहारका लागि आएका खेलाडीको आँखामा उनको नजर हुन्थ्यो ।”अतिरिक्त समयको पनि इन्जुरी टाइममा मार्टिनेजले फ्रान्सबाट आएको कठिन प्रहार नबचाएको भए सायद खेल पेनाल्टी सुटआउट पनि पुग्दैनथ्यो ।
लिभरपुलका इब्राहिम कोनाटोको प्रहार मार्टिनेजले उत्कृष्ट बचाँउ गर्दै अर्जेन्टिनालाई फ्रान्सलाई लगातार दोस्रो उपाधि जित्न दिएनन् । यो मार्टिनेजले कतारमा बचाएको ठूलो प्रहारमध्येको एक थियो । यस्तै, असाधारण बचाउका कारण उनले ‘गोल्डेन ग्लोभ’ जिते । उनले विश्वकपमै सर्वाधिक तीन ‘क्लिन सिट’ राखे ।
राष्ट्रिय टिमसँगको छोटो समयमा नै उनले गजबको प्रभाव बनाइसकेका छन् । गत वर्ष राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका उनले कोपा अमेरिका र विश्वकपको उपाधि दिलाइसकेका छन् ।यो सफलतासम्म आइपुग्न मार्टिनेजले कठिन प्रतीक्षा गरे । मार्टिनेज आठ वर्षसम्म आर्सनलमा रहे । जसमध्येका ६ वर्ष लोनमा अन्य क्लबबाट खेल्न गए । यो अवधिमा उनले आर्सनलका लागि प्रिमियर लिगमा ११ खेलमात्र खेले ।
र, दुई वर्षअघि उनी आर्सनलबाट एस्टोन भिल्ला आए । जहाँबाट मार्टिनेजले बेग्लै पहिचान स्थापित गराए ।“मसँग यसका लागि कुनै शब्द छैन । पेनाल्टीमा म निकै शान्त थिए । र, खेलको नतिजा हामीले चाहेअनुरूपको भयो,” आइतबार जितपछि मार्टिनेजले भने, “मैले बुनेका सबै सपनाहरू प्राप्त गरिसकेको छु ।”
Leave A Comment