Latest
img

शेरबहादुर देउवालाई उमेदवारी फिर्ता गगन थापाको अनुरोध, खड्का भन्छन देउवालाई जिताउछौ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।मंगलबार संसदीय दलको नेताका लागि उमेदवारी दर्तापछि थापाले डा. शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताए ।

देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।“मेरो उमेदवारीको प्रस्ताव गर्नुभएका डा. शेखर कोइराला र समर्थन गर्ने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र मित्र प्रदीप पौडेलप्रति आभार प्रकट गर्दछु,” थापाले भने, “सम्माननीय प्रधानमन्त्री तथा आदरणीय सभापति श्रद्धेय शेरबहादुर देउवाले उमेदवारी दर्ता गराइसक्नुभएको छ ।

अबको दुई घण्टापछि उमेदवारी फिर्ता लिने समय छ । शान्त मनले मनन गरेर उमेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ ।”उनले देउवाको प्रस्ताव बसेका नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यका निम्ति उनको समर्थन फिर्ता लिन आग्रह गरे ।

देउवाको उमेदवारीमा समर्थक बसेका नेता प्रकाशमान सिंह र उपसभापति पूर्णबहादुर खड्कालाई पनि उमेदवारीमा गरेको समर्थन फिर्ता लिँदै परिवर्तनको प्रक्रियामा सहयोगी बन्न थापाले आग्रह गरे ।महामन्त्री थापाले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा मात्र नभएको भन्दै सांसदहरूलाई जनमतको सम्मान गर्न आग्रह गरे ।

उनले पार्टीको नेतृत्वमा को छ, कसको नजिक जाँदा लाभ हुन्छ भन्ने भन्दा सांसदहरूको कर्तव्य आफ्ना मतदाताको आवाज सुन्ने भएको भन्दै मतदानका क्रममा जनभावनाका सम्मान गर्न आह्वान गरे ।“यो पार्टीको आन्तरिक निर्वाचन होइन, सांसदले पार्टीको सभापतिको होइन, आम मतदाताको आवाजको प्रतिनिधित्व गर्नुपर्छ,” थापाले भने, “त्यो प्रतिनिधित्व भोलिको निर्वाचनमा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

सांसदहरूलाई ब्रह्मलाई सोधेर मतदान गर्न आह्वान गर्दछु ।”उता नेपाली कांग्रेसका उपसभापति पुर्णबादुर खड्काले सभापति देउवा भारी मतान्तरसहित निर्वाचित हुने दावी गरेका छन् । सभापति देउवाको समर्थक बसेका खड्काले उमदवारी दर्तापछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति देउवाले भारी मतान्तरसहित जित्ने दाबी गरेका हुन् ।

“नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । यो पार्टीमा संसदीय दलमा हुने प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिनुपर्छ,” खड्काले भने, “पार्टीका प्रतिनिधिसभाका सदस्यहरुले मतदान गर्नुहुनेछन् । उमेदवारीको समर्थकको हिसावले भन्न चाहन्छु शेरबहादुर देउवा भारी मत सहित जित्नुहुनेछ ।”

उनले सभापतिले स्थानीय चुनाव र संघीय तथा प्रादेशिक निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाएको भन्दै सबै पार्टी मिलाएर लैजान देउवाको नेतृत्व आवश्यक भएको बताए । “सभापतिज्युकै नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्‍यो । नेपाली कांग्रेस पहिलो पार्टी भयो ।

उहाँकै नेतृत्वमा संघीय र प्रादेशिक निर्वाचन गर्‍यौँ कांग्रेस पहिलो पार्टी भएको छ,” उपसभापति खड्काले भने, “सबै पार्टीका नेताहरुलाई मिलाएर लैजानसक्ने जुन क्षमता उहाँमा छ त्यो अनुभवी नेतृत्वको उपयोग राष्ट्रले गर्नुपरेको छ ।” खड्काले पुस्तान्तरण समयक्रममा हुने भन्दै सभापति देउवा,

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामा पुस्तान्तरण हुने बताए ।“पूस्तान्तरण अहिले होइन समयक्रममा हुनेछ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामै पुस्तान्तरण हुनेछ,” खड्काले भने, “अहिले संविधानको कार्यान्वयन गर्नुछ ।

गिरिजाबाबुले थालेको शान्ति प्रक्रियालाई पूर्णता दिनुछ । त्यसैले देउवाको नेतृत्व आवश्यक छ ।” यी सबै काम गगन थापाबाट सम्भव छैनन् भन्ने प्रश्नमा खड्काले आफूले त्यसो नभनेको भन्दै पन्सिए । “र्मैले गगनजीमा क्षमता छैन भनेको छैन । गगनजीसँग क्षमता छ ।

रामचन्द्र पौडेलसहित अन्य नेताहरुमा पनि क्षमता छ । मैले छैन भनेको छैन,” खड्काले भने, “तर, मैले जे भने ती कारणहरु देउवाको नेतृत्व आवश्यक भन्न पर्याप्त छन् । गगनजीले भनेको पस्तान्तरण भन्दा मैले भनेको कुरा धेरै अगाडि छन् ।”उनले गगन थापालाई उमेदवारी फिर्ता लिन आग्रह गर्दै पुस्तान्तरण केही समयपछि हुँदै जाने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment