काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
कांग्रेसको गणित हेर्दा गगन थापाको पक्षमा ३८ जना सांसद देखिएका छन् । कांग्रेस संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर जित हासिल गर्ने अपेक्षामा गगन छन् ।
विशेषगरी युवा पुस्ताका सांसदहरूप्रति गगनलाई ठूलो भरोसा छ ।गणित हेर्दा देउवा नै बलिया देखिन्छन् । एक नेताका अनुसार यदि शेखर समूह एक ढिक्का भएर गगन थापालाई भोट हाल्यो भने पनि उनले जित्न सहज छैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ नेताहरू बताउँछन् ।
उमेर र राजनीतिक अनुभवले पाका नेताहरू गगनलाई प्रधानमन्त्रीको कुर्सीमा देख्न नचाहेको नेताहरु बताउँछन् । एक नेताका अनुसार देउवा पक्षका भनेर चिनिएका कतिपय सांसद गगनको सम्पर्कमा छन् र उनीहरुले गोप्य मतदानमा गगनलाई सघाउने आश्वासन दिएकाछन् । स्रोतका अनुसार प्रकाशमान सिंह निकट मानिएका राजेन्द्र केसी र सन्तोष चालिसेले गगनको पक्षमा छन् ।
यो पनि – संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् ।
कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ ।
यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आकलन छ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।
एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन् ।
यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका हुन् ।
उनहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनले भने, “सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ । संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ ।”
साथै नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ ।दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
Leave A Comment