काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो । पहिलो मतदान दलको नेताका उमेदवार पार्टी सभापति शेरबहादुर देउवा र अर्का उमेदवार महामन्त्री गगन कुमार थापाले गरेका छन् ।
उनीहरूले मतदान गरेपछि लाइनमा बसेका अन्य सांसदले मतदान गरिरहेका छन् । मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा केही समय ढिलो गरी मतदान सुरु भएको छ । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए ।
संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । मोबाइल लैजान नपाउने विषयमा सहमति भए पछि मतदान सुरु भएको हो । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् ।
मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ । सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् ।समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।
महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।कांग्रेसमा मात्रै नभएर सबैजसो पार्टीमा चलेको बहस हो पुस्तान्तरणको ।
पुराना नेताबाट ‘आजित’ पुस्ताले परिवर्तन खोजिरहेको छ । निर्वाचनको सन्देश पनि पुरानो पुस्तालाई ससम्मान बिदा गर्नुपर्छ भन्ने नै देखियो । पुराना शक्ति कमजोर बने, नयाँ शक्तिको उदय हुँदैछ ।अब पनि ‘ठूला भनिएका दल नसच्चिए अर्को चुनावसम्म ठूला दलको हालत के होला भन्न नसकिने’ अवस्था चुनावको परिणामले देखाएको छ ।
गगन थापाले प्रतिनिधि सभाको चुनावमा होमिँदै गर्दा भनेका थिए – प्रधानमन्त्रीका लागि यसैपल्ट ‘एटेम्ट’ गर्ने हो सरकारको नेतृत्व पनि गर्ने हो ।भित्रभित्रै दलको नेताका लागि तयारीमा रहेका थापाले अन्तिम घडीमा देउवाविरोधी समूह ठूलो बनाए, अनि एकैठाउँमा उभ्याउन सफल पनि भए ।
यही काम यसअघि शेखर कोइरालाले महाधिवेशनको बेला प्रयास गरे पनि सकेका थिएनन् ।आफूसँगै महामन्त्रीमा चुनावी प्रतिस्पर्धामा होमिएका विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई समर्थक बनाएर थापाले उमेदवारी दर्ता गराउँदै गर्दा समूहका नेता कोइराला स्वयं प्रस्तावक बने ।
यसले पन्ध्रौँ महाधिवेशनको पनि खाका कोरेको देखिन्छ । पार्टीको भूमिकामा कोइराला र संसदीय भूमिकामा थापा कांग्रेसको आगामी बाटोको रेखा देखिन्छ ।पन्ध्रौं महाधिवेशनमा थापाले सभापतिमा कोइरालालाई समर्थन गर्ने अवस्था आएमा कोइरालाले पनि भावी प्रधानमन्त्रीमा थापालाई अगाडि सार्ने अवस्था आउन सक्छ ।
यस्तो अवस्थामा कांग्रेसमा पार्टी र संसदीय मोर्चा एउटै व्यक्तिको हातमा रहँदैन । कोही एकछत्र नेता हुँदैन ।कांग्रेसको इतिहासमा यो नौलो अभ्यास भने होइन । त्यो मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीच होस् कि सुवर्ण शमशेर र बीपीबीच होस् या कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच होस् ।
पार्टी र सरकारको नेतृत्व फरकफरक व्यक्तिबाट भएको दृष्टान्त छ ।त्यति अघि पनि किन जानु ! देउवा पहिले दुईपल्टसम्म प्रधानमन्त्री हुँदा पनि पार्टीको नेतृत्व उनको हातमा थिएन ।पार्टी र सरकार एउटै व्यक्तिको हातमा नहुँदा आफ्नो ‘मनखुसी’ गर्न नपाइने बुझेका देउवाले त्यसमा लागि परेर सफल पनि भए ।
तर, जनता र देशका लागि भने उल्लेखनीय योगदान गर्न सकेनन् ।अब चुनावले दिएको सन्देशलाई चिरेर पार्टीलाई अघि बढाउने जिम्मेवारी धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेतामा छ ।किनभने यसअघि पार्टी र देशलाई लिन र दिन केही बाँकी नराखेका नेताहरुलाई पार्टी सकिए पनि खासै मतलब नहुन सक्छ ।
राष्ट्रियता, लोकतन्त्र र पार्टी जोगाउने अभियानमा युवा नेताहरु एकै ठाउँमा उभिँदा कांग्रेसभित्र त सकारात्मक सन्देश गएको छ नै त्यसले राष्ट्रिय राजनीति पनि पक्कै प्रभावित हुनेछ । यसबाट पछिल्लोे चुनावमा मतदाताले दिएको जनादेशकोे पनि सम्बोधन भएको देखिनेछ ।
अहिलेको संसदीय निर्वाचनमा मतदाताले गरेको निर्देश युवा नेताहरुको हातेमालोमा चरितार्थ हुँदा युवा मतदातामा आशाको सञ्चार गरेको छ ।देउवाले दिएको ‘मन्त्रीको आश्वासन’ लाई बेवास्ता गर्दै पुरानो गुट पनि नहेरी राजनीतिक जोखिम मोलेका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको निर्णय सामु देउवाका पक्षमा उभिएका रामचन्द्र पौडेल,
विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेतालाई ‘आत्मग्लानि’ र ‘लज्जाबोध’ भइरहेको हुनुपर्छ । तिनले महाधिवेशनकै बेलादेखि पुस्तान्तरणको कुरा जो उठाइरहेका थिए ।पौडेल र सिंहले त यसअघि नै दलको नेतामा देउवालाई चुनौती दिएका थिए जहाँ थापाले उनीहरुलाई निस्वार्थ सघाएका थिए ।
तर यसपल्टको थापाको अभियानमा उनीहरु अहिलेसम्म साथ दिने मनःस्थितिमा देखिएका छैनन् । परन्तु, चुनावमा मतदाताले खोजेको परिवर्तन आत्मसात गरेर कांग्रेसका ८९ सांसदले त्यसलाई सम्बोधन गर्न सक्नेछन् । अहिलेको अंकगणितअनुसार थापाले विजय हासिल गरे कांग्रेस र मुलुकका लागि भने त्यो ‘सरप्राइज’ पनि हुनेछ ।
नेपाली राजनीतिको भावी मार्ग कोर्ने तयारीमा रहेका सांसदहरुले विवेक प्रयोग गरे भने नेपाली राजनीतिमा उज्याला संकेतहरु देखा पर्न सक्नेछन् । राजनीतिप्रति देखिएको वितृष्णा मत्थर हुनेछ ।हुन त कांग्रेस एक्लैले सरकार बनाउनसक्ने अवस्था छैन तर नेपाली कांग्रेसको दलको चुनावले गठबन्धन र मुलुकको भविष्यको पनि निर्धारण गर्नेछ ।
दलको नेता चयन गर्ने कांग्रेसको यो प्रक्रियाले उसको लोकतन्त्रप्रतिको प्रतिबद्धता र अभ्यासलाई भने सशक्तरुपमा उजागर गरेको छ । अरु दलमा पनि यसको दबाब पक्कै पर्नेछ ।
Leave A Comment