काठमाडौं– कांग्रेस संसदीय दलको निर्वाचनमा विरोधका बावजुद पनि संस्थापन पक्षका सांसदले मत हालेको तस्बिर खिचेका छन्। पार्टी सभापति तथा संसदीय दलका नेताका उम्मेदवार शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले सांसदलाई तस्बिर खिच्न निर्देशन दिएकी थिइन्।
आरजुको निर्देशन अनुसार नै १० जना सांसदले मत हालेको तस्बिर खिचेको दलका नेताका अर्का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । आफूहरुले विरोध गर्दा गर्दै पनि देउवा पत्नीको निर्देशनमा सांसदहरुले तस्बिर खिचेको थापाले बताए ।
आरजुले मतदानस्थलमा शंकास्पदमाथि निगरानी गर्दै देउवाको पक्षमा मत हाल्न सांसदहरुलाई अह्राइरहेकी छिन्। यस्तै उम्मेदवार थापाले ती १० जना सांसदलाई मत हालेको तस्बिर सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरिदिन अनुरोध गरेका छन्। उनले भने,
‘हामीले विरोध गर्दा गर्दै पनि कसैको निर्देशनमा १० जना सांसदले तस्बिर खिचाएरै प्रमाणका रुपमा देखाउनुभयो। ठीकै छ, को–को हुनुहुन्छ भन्ने हामीले चिनेका छौं। तर अब कम्तिमा पनि मत हालेको तस्बिर सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरिदिनुहोस्।’
यसैबीच नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो।
अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए। उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन्।
उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए। संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।
Leave A Comment