काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनाव देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।
उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए। नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।
उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन् ।
यो पनि – चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री र स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी छ,’ उनले भनेका छन्। बुधबार साँझ नै बैठक बस्न सक्ने प्रचण्डले बताएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताइन्।
‘प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति,सभामुख उपसभामुखमा सवालमा कांग्रेसको निर्वाचन परिणाम लगत्तै बैठक बस्ने कुरा छ। बुधबार साँझ यसमा छलफल हुनसक्छ,’ प्रचण्डको भनाइ थियो। यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो।
सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका कारण गठबन्धन बैठकमा अनौपचारिक रूपमा छलफल गर्ने तयारी छ।
Leave A Comment