Latest
img

गगन युगको उदय हुन् सकेन, आफ्नै समूहका सांसदको मत समेत गगनले पाएनन् !

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनाव देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए। नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।

उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन् ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले निर्वाचन परिणामलाई अनपेक्षित भनेका छन् । तैपनि उनी आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि दलको निर्वाचनमा साथ नदिएको भन्दै अपेक्षाकृत नतिजा नआएको बताएका हुन् ।

बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए । उनले सांसदहरुले विवेक र आफ्नो मत प्रयोग गर्ने कुरा भन्दै आफ्नो उम्मेदवारी रुपान्तरणकै निम्ति र कांग्रेसभिन्न ढंगले चल्नुपर्छ भन्ने मान्यताअनुसार रहेको बताए ।

‘तर बहुसंख्यक साथीहरू त्यसरी चल्नुपर्दैन भन्ने देखिनुभयो, त्यसलाई मैले सहज लिने कुरा भयो’, उनले नतिजालाई स्वाभाविक रुपमा लिने भन्दै आगामी दिनमा लगातार मन जित्ने प्रयास गर्ने बताए । ‘फेरि निर्वाचन हुन्छ, प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ, त्यो बेलासम्म थप साथीहरूको मन जित्न सक्छु भन्ने संकल्प छ’, थापाको भनाइ छ ।

उनले आफू तत्काल सरकारमा सहभागी नहुने पनि बताए ।नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे ।

चुनाव परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै गगनले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताए । तर, पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न ।

पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने ।आगामी सरकारमा तपाईं सहभागी हुने कि नहुने भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment