Latest
img

दुई वटा चिनी उद्योग सञ्चालनमा आए

सर्लाही । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्री गरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन ।उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।हरिवनमा रहेको इन्दुशङ्कर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।

जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।

उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा ७ सय ५ रूपैयाँ कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उनका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पुर्याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकैपटकमा भुक्तानी नपाउँदा किसान मारमा परेका छन् ।

तर, खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ ।जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखुखेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा क्षेत्रफलमा उखुखेती भएको छ ।इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले ५ सय २० रूपैयाँ र सरकारले ७० रूपैयाँ किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए ।

उखु उत्पादक किसानले सधैं घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनालीले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment