ब्राजिलियन लेजेण्ड रोनाल्डो नाजारियो २०२२ फिफा विश्वकपमा किलियन एमबाप्पेको शानदार प्रदर्शन देखेर छक्क परेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले विश्वकपमा एम्बाप्पेको प्रदर्शन देखेर आफू छक्क परेको बताएका हुन्।
ब्राजिलियन प्लेटफर्म अपोस्टागोलोससँग कुराकानी गर्नेक्रममा रोनाल्डोले विश्वकपको सुरुवात देखि अन्त्य सम्म एम्बाप्पेले धेरै राम्रो फुटबल खेलेको दावी गरे। गोल नगरेको खेलमा पनि एम्बाप्पेले उत्कृष्ट खेलेको रोनाल्डोको भनाई छ। अन्तर्वार्ताका क्रममा रोनाल्डोले बताए कि मोरोक्को र इंग्ल्याण्ड विरुद्धको खेलमा गोल गर्न नसकेपनि एम्बाप्पेले उत्कृष्ट खेलेका थिए।
“पक्कै पनि एम्बाप्पेले विश्वकपको सुरुवात देखि अन्त्य सम्म धेरै राम्रो खेले। क्वार्टरफाइनलमा इङ्ल्यान्ड वा सेमिफाइनलमा मोरक्कोविरुद्ध गोल नगरेपनि धेरै राम्रो खेले। दुवै खेलमा उनी नै निर्णायक थिए। दुवै खेलमा एम्बाप्पेले चलाख असिस्ट निकालेका थिए।
फाइनलमा त उनले उत्कृष्ट हुनुको सिमा नै नाघे, पेनाल्टी सहित चार गोल गरे।”,रोनाल्डोले एम्बाप्पेको प्रशंसा गर्दै भने। त्यस्तै रोनाल्डोले एम्बाप्पेलाई देख्दा आफ्नो युवा अवस्थाको याद आउने पनि बताए। एम्बाप्पेको उच्च गति देखेर पनि आफू छक्क पर्ने गरेको रोनाल्डोको भनाई छ।
विश्वकपमा यसपटक अन्य खेलाडीहरु समेत छिटो देखिएपनि एम्बाप्पे सबै भन्दा द्रुत गतिका खेलाडीको रुपमा देखा परेको रोनाल्डोले बताए। उनले भने,”प्राविधिक रूपमा उनी शानदार छन्। उनी लगभग कसैले रोक्न नसक्ने खेलाडी छन्। यस विश्वकपमा धेरै फरवार्डहरूको गति उच्च देखिएको थियो।
तर गतिको मामलामा एम्बाप्पे नजिक भने कोहि थिएनन्। एम्बाप्पे विश्व कपको उत्कृष्ट खेलाडी घोषित हुन पनि सक्थे, त्यसको लागे उनी योग्य थिए। जब म उनलाई खेलिरहेको देख्छु, मलाई मेरो उत्कृष्ट पलहरूको सम्झना आउँछ।”एजेन्सी
Leave A Comment