Latest
img

कारागारबाट सन्दिपको मार्मिक पत्र, मलाई निराशा र हताशापूर्ण सोचहरुले प्रत्येक मिनेट हिर्काइरहेका छन्

मेरो प्रिय वकिल !आशा गर्छु, तपाईंको स्वास्थ्य राम्रो छ ।सबैभन्दा पहिले त म तपाईंले मलाई गर्नुभएको निरन्तर सहयोग र हेरचाहका लागि धन्यवाद दिन्छु र मविरुद्ध दायर गरिएको गलत एवं षड्यन्त्रपूर्ण मुद्दामा अदालतमा मेरोतर्फबाट कानूनी प्रतिनिधि बनिदिनुभएकोमा आभार प्रकट गर्छु ।

तपाईं र सिंगो देशलाई मेरो खेल करिअरका विषयमा तथा नेपालको क्रिकेट स्तर उकास्न मैले दिएको योगदानका विषयमा जानकारी नै छ । यतिवेला म गलत र गम्भीर रुपमा छलपूर्ण आपराधिक मुद्दाको सामना गरिरहेको छु, जुन मेरो जीवन, मेरो परिवार तथा नेपाली क्रिकेटमाथि गम्भीर हानी पुर्‍याउन थुप्रैको प्रत्यक्ष वा परोक्ष संलग्नतामा रचिएको विद्वेषकारी षड्यन्त्रको नतिजा हो ।

तर, म बलियो, उत्प्रेरित र पूर्ण आश्वस्त छु कि मैले यस्तो षड्यन्त्रका पर्खालहरु भत्काउनैपर्छ, मेरो लागि मात्र नभएर उनीहरुका निम्ति पनि जसले ढिलो वा चाँडो यस्तै खालको परिस्थितिको सामना गर्न सक्छन् ।अहिलेसम्म सायद मेरो कानूनी टीमले सबै प्रमाणहरु अध्ययन र विश्लेषण गरिसक्यो होला ।

म यो कुरामा चाहिं अचम्भित छु कि आपराधिक प्रकृतिको आधारहीन एवं असत्य नाटक मञ्चन गर्न कोही कसरी यति धेरै अन्यायी हुनसक्छ । अनि, अनुसन्धान गर्ने निकायले आरोपहरुको वैधानिकता र मौलिकताका सम्बन्धमा कागजातहरुको आधिकारिकता परीक्षण गर्ने कुरालाई यति सजिलोसँग पन्छाइदिए ।

यस भूमिको कानून तथा हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । र, म सबै प्रकारका ट्रायलहरुबाट पार हुन तयार छु । तर, म यो कुरामा ढुक्क छैन कि हाम्रो अनुसन्धान गर्ने निकायहरुले अनुसन्धानका प्रत्येक चरणमा प्रमाणहरुको उचित मूल्यांकन र विश्लेषण गर्नेछन् ।

यस्तो लाग्छ कि हाम्रा अनुसन्धानहरु आरोपको घनत्वलाई पुष्टि गर्नेभन्दा पनि आरोपितलाई सजाय दिलाउने विशेष प्रयत्नका साथ सञ्चालित हुन्छन् ।मैले महसुस गरेको थिएँ कि म एउटा आपराधिक जालमा परेको छु । तर, त्यसवेला धेरै ढिला भइसकेको थियो ।

मविरुद्ध परिस्थिति एकदमै कुशलतापूर्वक निर्माण गरिएको थियो । मैले यो पनि अनुभूति गरें कि खेलकुदका मेरा आफ्नै दाजुभाइहरु उनीहरुको भाइ (दाइ)ले गलत मुद्दा झेलिरहँदा कसरी निरपेक्ष बस्न सकिरहेका छन् ? म उनीहरुको राम्रो स्वास्थ्यको कामना गर्छु ।

मलाई थाहा छ, तपाईं र मेरो कानूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई उजागर गर्दै मलाई न्याय दिलाउनेछ । म फेरि फर्किनेछु । मलाई अझै ठीक छु, यद्यपि निराशा र हताशापूर्ण सोचहरुले मलाई प्रत्येक मिनेट हिर्काइरहेका छन् । तर, प्रत्येक दिन म आफूलाई बलियो, आत्मविश्वासी र सावधान बनाउने प्रयत्न गरिरहेको छु । मलाई सम्मानित न्यायालयबाट द्रुत न्यायको प्रतीक्षा छ ।

मलाई थाहा छ कि मेरो अनुपस्थितिमा नेपाली राष्ट्रिय टीममा असर परिरहेको छ । म तपाईंमार्फत यो सन्देश प्रवाह गर्न चाहन्छु कि म चाँडै न्याय पाएर फर्किनेछु र हामी आफ्नो टीमलाई माथि उठाउनेछौं । मैले कुनै पनि अपराध गरेको छैन र म निर्दोष छु । केवल निर्दोष । मैले मेरो राष्ट्रका लागि अझै धेरै खेल्नुपर्नेछ ।उही तपाईंको सन्दीप लामिछाने केन्द्रीय कारागार।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment