Latest
img

आमाभन्दा छोरी जेठी

धनगढी । ‘आमाभन्दा छोरीको उमेर बढी’ यो कुरा सुन्दा सबैलाई अचम्म लाग्छ । अहिले कैलाली भजनी नगरपालिका ९ गौवाकी जधिया डगौरा आफ्नी आमा भुधनी डगौराभन्दा ९ वर्ष जेठी छन् ।२०४१ चैत्र १० गते एकै दिन नागरिकता लिएका जधिया र भुधनी दुबै सहोदर आमा छोरी हुन् ।

तत्कालीन खैलाड ३ मा नरेन्द्र लाल श्रेष्ठको हस्ताक्षरमा उनीहरूले नागरिकता पाएका हुन् । उक्त नागरिकतामा छोरी जधिया डगौराको जन्म मिति २०१० र आमा भुधनी डगौराको जन्म मिति २०१९ उल्लेख गरिएको छ ।यो नागरिकताको आधारमा आमाकोभन्दा छोरीको ९ वर्ष उमेर बढी देखिन्छ ।

उनीहरूले ३८ वर्ष देखी आफ्नो नागरिकतामा भएको उमेरबारे केही जानकारी पाएनन् ।नागरिकतामा आमाभन्दा आफू बढी उमेरको रहेको बारे उनी भन्छिन्, ‘अचम्म लाग्यो । हामीलाई यसमा के लेखेको छ भन्नेबारे थाहा भएन । कालो अक्षर भैँसी बराबर त हो’ उनले थपिन्, ‘फेरी नागरिकता पाएपछि खासै काम पनि भएन ।’

अहिले जधियाका नागरिकता अनुसार ६९ वर्ष पुगेको छ । उनले सामाजिक सुरक्षा भत्ता समेत पाउने गरेकी छन् । यता आमाको भने उमेर पुगेको छैन भन्दै भत्ता दिनबाट स्थानीय सरकार पन्छिरहेको छ ।यहाँ यी दुई आमा छोरीबाहेक अन्यको नागरिकतामा पनि यस्ता गम्भीर त्रुटिहरू

रहेको स्थानीय बताउँछन् । ‘नागरिकतामा कसरी आमाकोभन्दा छोरीको उमेर बढी लेखिन्छ त ?’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी भन्छन् ‘यो मानवीय त्रुटि हो ।’नागरिकतामा जन्म मिति लेख्दा फरक परेको हुन सक्ने उनी बताउँछन् ।

‘यस्तो समस्या अहिले पनि कहिले काहीँ आउने गरेको’ उनी भन्छन्, ‘अहिले टाइप गर्दा मिस्टेक भएजस्तै पहिले लेख्दा गल्ती भएको हुन सक्छ ।’ सूचना अधिकारी जोशीले जधिया डगौरा र भुधनी डगौराका पुराना कागजपत्र हेरेर नागरिकता सच्चाउन सकिने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment