काठमाडौं । समकालीनमध्ये अथाह चाहना राख्दा पनि प्रधानमन्त्री बन्न नसकेका राजनीतिज्ञ हुन्, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।जित्नै नसक्ने अवस्थामा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो र १७ पटक हरायो । यो भन्दा दुखान्त उनको राजनीतिक जीवनमा अरु छैन सायद ।
पार्टीभित्र गुट चलाए पनि बलियो बनाउन नसकेका रामचन्द्रले आशा भने मारेनन् । पार्टीको १४औं महाधिवेशनमार्फत सभापति निर्वाचित हुँदै प्रधानमन्त्री बन्ने चाहनालाई निरन्तरता दिए । तर, त्यो पनि सम्भव भएन । अन्त्यमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिको सम्भावना र आशा बाँकी राखे ।
उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा पनि रामचन्द्र युवा जोससहित निर्वाचनमा होमिए । र, जिते पनि । परिणामले कांग्रेसलाई पहिलो पार्टी पनि बनायो । र, रामचन्द्रको राष्ट्रपति बन्ने चाहनामा केही थप आशा र सम्भावना बढ्यो ।यतिखेर सरकार गठनको रनाहा चलेको छ ।
सँगै, यसै वर्ष राष्ट्रपतिसहित थुप्रै पदहरू दलहरूबीच लेनदेन हुँदैछ । र, रामचन्द्र राष्ट्रपति बन्ने वा नबन्ने पनि लेनदेनकै हिसाबकिताबमा निर्भर छ ।सिधा हिसाबमा वर्तमान सत्ता गठबन्धनबीच लेनदेन हुँदा माओवादीले प्रधानमन्त्री पाए मात्र कांग्रेसले राष्ट्रपति पाउँछ ।
त्यस्तो अवस्थामा पनि सभापति देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार भए मात्र रामचन्द्र राष्ट्रपति हुन सक्छन् ।यदि, देउवाले ‘होइन म राष्ट्रपति भएर बिदा हुन्छु’ भनेको खण्डमा रामचन्द्र फेरि हस्रक्कै पर्नेछन् । त्यसो त आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति हुनु,
पहिलो कार्यकालका लागि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनु हो भने देउवा राष्ट्रपति बनिसकेको अवस्थामा रामचन्द्र दोस्रो कार्यकालको प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्छ ।देउवा–प्रचण्ड दुवैले प्रधानमन्त्री दाबी गरेका छन् । त्यसै कारण गठबन्धनमा कुरा मिलेको छैन ।
रामचन्द्र शनिवार दिनभर देउवा–प्रचण्डलाई मनाउन लागिपरे । तर, सकेनन् । देउवा र प्रचण्डलाई मनाउन नसके पनि प्रचण्डबाट थप आशा भने पाए ।प्रचण्डकहाँ ‘देउवालाई प्रधानमन्त्री छोडिदिनुस्’ भन्न पुगेका रामचन्द्रलाई प्रचण्डले उल्टै आशा भिराएर पठाए । ‘त्यसरी कहाँ हुन्छ– तपाईं राष्ट्रपति हुने हो म प्रधानमन्त्री ।’
प्रचण्डले भने जसरी नै प्रचण्ड प्रधानमन्त्री हुने अवस्थामा रामचन्द्र राष्ट्रपति हुने सम्भावना रहन्छ । तर, गठबन्धनमा कसरी कुरा मिल्छ भन्ने महत्वपूर्ण हुन्छ । कांग्रेसमा रामचन्द्र कमजोर नै भए पनि इमानजमान गुमाएका वा अरु जस्तो अरुबाट कुरा काटिने राजनीतिज्ञ होइनन् ।
चाहेजस्तो सफलता नपाए पनि निरन्तर लागिपर्ने इमानजमान भएका नेतै मानिन्छन् । रामचन्द्र उमेर र अनुभवका दृष्टिमा पनि पाका हुन् । सम्भवतः आगामी निर्वाचनमा उउम्मेदवार पनि बन्दैनन् । भोट माग्दै पनि ‘यो अन्तिम पटक हो’ भनिसकेका छन् ।त्यसैले यसपटक जसरी पनि राष्ट्रपति बन्ने उनको चाहना हो ।
रामचन्द्रले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न छोडिसके । किनकी, उनले प्रधानमन्त्री बन्न आन्तरिक शक्ति गुमाइसकेका छन् । यस्तो अवस्थामा आफ्नै बुतामा प्रधानमन्त्री सम्भव हुँदैन । त्यसैले, एकपटक राज्यलाई अभिभावकत्व प्रदान गरेर राजनीतिबाट बिदा हुने रामचन्द्रको अन्तिम चाहना हो ।
Leave A Comment