Latest
img

ओली प्रधानमन्त्री बन्ने सम्भाबना बढ्यो

सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ । सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अध्यक्ष केपी ओलीसँग छलफलका लागि पुगेका हुन् । उनीहरुबीच बालकोटमा दुई पक्षीय तथा बहुपक्षीय बैठक हुने बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो ।

त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु सहभागी छन् ।

बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो ।

अब एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन गरेर सरकार बनाउने सम्भावनाबारे छलफल शुरू भएको छ ।प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसद छन् । यो गठबन्धन बनेमा १५६

सांसद पुग्छन् । सरकार गठनका लागि १३८ सांसद चाहिन्छ । सत्तारुढ गठबन्धनका प्रमुख नेताहरू मध्ये काे पहिला प्रधानमन्त्री भन्ने विवाद टुङ्गाे नलागेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारकाे बैठकबाट अचानक निस्किएका छन्।

आफूलाई सुरुकाे दुई वर्ष प्रधानमन्त्री दिन शेरबहादुर देउवा राजी नभएपछि माओवादी अध्यक्ष दाहालले अब गठबन्धनकाे अर्थ नरहेकाे उक्त बैठकमा बताएका थिए। कांग्रेस नेता रामचन्द्र पाैडेलका अनुसार दाहाल अब अब गठबन्धनकाे अर्थ नरहेकाे भन्दै बैठकबाट बाहिरिएका थिए।

पाैडेलले सञ्चारकर्मीहरूसँग भने,’गठबन्धनकाे कुनै अर्थ नरहेकाे भन्दै दाहाल बैठकबाट बाहिरिनुभयाे।’ याेसँगै नेपाली कांग्रेस नेतृत्वकाे सत्तारुढ गठबन्धन धरापमा परेकाे छ।देउवा र प्रचण्डमध्ये काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे छलफल गर्नका लागि केहीदिन यता निरन्तर बैठक बसेकाे भएपनि यी दुई नेताका ‍आ-आफ्नै अडानका कारण काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे टुङ्गाे लाग्न नसकेकाे हाे।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment