नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।
नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।१४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो ।
त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु सहभागी छन् ।
बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो ।
आफूलाई सुरुकाे दुई वर्ष प्रधानमन्त्री दिन शेरबहादुर देउवा राजी नभएपछि माओवादी अध्यक्ष दाहालले अब गठबन्धनकाे अर्थ नरहेकाे उक्त बैठकमा बताएका थिए। कांग्रेस नेता रामचन्द्र पाैडेलका अनुसार दाहाल अब अब गठबन्धनकाे अर्थ नरहेकाे भन्दै बैठकबाट बाहिरिएका थिए।
पाैडेलले सञ्चारकर्मीहरूसँग भने,’गठबन्धनकाे कुनै अर्थ नरहेकाे भन्दै दाहाल बैठकबाट बाहिरिनुभयाे।’ याेसँगै नेपाली कांग्रेस नेतृत्वकाे सत्तारुढ गठबन्धन धरापमा परेकाे छ।देउवा र प्रचण्डमध्ये काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे छलफल गर्नका लागि केहीदिन यता निरन्तर बैठक बसेकाे भएपनि यी दुई नेताका आ-आफ्नै अडानका कारण काे पहिला प्रधानमन्त्री बन्ने भन्नेबारे टुङ्गाे लाग्न नसकेकाे हाे।
Leave A Comment