प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्किएपछि आन्तरिक छलफलका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएका छन् । खड्का र सिटौला अहिले बालुवाटार पुगेका हुन् ।
माओवादी केन्द्र सत्ता गठबन्धन त्यागेर एमालेसँग मिल्न गएको छ । कांग्रेसले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट हात धुनुपर्ने अवस्था आएका बेला देउवाले आफू निकट पार्टी नेताहरूसँग छलफल गरेका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अश्वीकार गरेका छन् ।
उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।बिहानको बालुवाटार वार्तामा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड बालकोट जाने भन्दै बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका प्रचण्ड खुमलटारस्थित निवासमा पुगे ।उनले त्यहाँ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङसँग छलफल गर्दै गठबन्धन टुंगिएको र अब एमालेसँग मिल्ने जानकारी दिए ।
तीनैजना नेता एमालेसँग मिल्ने पक्षमा रहेकाले उनीहरुले प्रचण्डलाई ठिक गर्नुभयो भने ।प्रचण्डले अब बालकोट जानुपर्छ भनेर तीनैजना नेतालाई लिएर हिड्न लाग्दा बालुवाटारबाट देउवाले प्रचण्डलाई फोन गरेका थिए ।एक नेताका अनुसार ‘बर्बाद हुन्छ यार, आउनुस् आउनुस्, मिल्नुपर्छ, म मिलाउँछु’ भने ।
तर, प्रचण्ड अब ढिला भइसकेको भने आफू नआउने जानकारी गराएर बालकोटतिर लागेका थिए ।अब प्रचण्ड बालुवाटार फर्किने सम्भावना छ त ? माओवादीका ती नेताले भने, अब सम्भव छैन । यति गर्दा पनि प्रचण्ड बालुवाटार फर्किए भने हामी चाहिँ अर्को बाटो लाग्छौं । प्रचण्डसँग पार्टी हुँदैन ।’
सत्ता गठबन्धनमा ब्रेक लागेको छ। २०७८ जेठमा बनेको सत्ता गठबन्धन नयाँ सरकार गठन प्रक्रियामा टुटेको हो। पदीय भागबण्डा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै गठबन्धन बिसाएको घोषणा गर्दै बालकोट पुगेका छन्।
अध्यक्ष प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्। आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन।
छलफल निष्कर्षमा नपुगेपछि प्रचण्डले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको कांग्रेसका एक नेताले बताए। गठबन्धन कायम राख्नुपर्नेमा शीर्ष नेताहरुको मतैक्य भए पनि गठबन्धनबाट पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न सकस परेको हो।
देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहेका थिए। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने अडान राखेको छ। सत्ता गठबन्धनको संयोजन गरिरहेका कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन ‘ब्रेक’ भएको पुष्टि गरेका छन्। प्रचण्डले गठबन्धन नरहेको जानकारी गराउँदै बाहिरिएको पनि पौडेलले उल्लेख गरे।
विगत २ वर्षदेखि कायम रहेको ५ दलीय गठबन्धन अब नरहेको पौडेलको भनाइ छ। आज (आइतबार) बालुवाटारमा प्रचण्डले आफूलाई कांग्रेसले धोका दिएको पनि बताएको नेता पौडेलले नेपाल लाइभलाई बताए। विगत केही दिनयता कांग्रेस नेता पौडेल गठबन्धन जोगाउन दौडधुप गरिरहेको थिए।
उनले भने, ‘गठबन्धन देशको आवश्यकता हो, तर जोगाउने कुरामा हाम्रो हातमा रहेन।’ त्यसअघि माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनमा गडबड सुरु भएको बताएका थिए। नेपाल लाइभसँग उनले भने, ‘सत्ता गठबन्धनमा गडबड सुरु भयो।’
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष तहमै कुरा नमिलेपछि सत्ता गठबन्धनको बैठक नै बस्न सकेन। सत्ता गठबन्धन तोडेर आएका प्रचण्डसहित एमालेको नेतृत्वमा बालकोटमा बैठक सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक सुरु भएको छ। सत्ता गठबन्धनमा कुरा नमिलेपछि नयाँ गठबन्धनको प्रयास थालिएको छ। नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी समावेश हुने सम्भावना छ।
नयाँ समीकरण बनाउने बैठकमा एमालेबाट ओलीसँगै एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने, मुकुल ढकाल लगायतका नेताहरु सहभागी छन्।
बालकोटमा रहेका दलहरुबीच सहमति जुटेर सरकार बन्ने अवस्था आए १५५ सांसद पुग्ने देखिन्छ। एमालेका ७७ सांसद, नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसदसहित कूल १५५ सांसद रहेका छन्। सरकार गठनका लागि १३८ सांसदको संख्या आवश्यक रहन्छ।
Leave A Comment