बिहानसम्म रहेको पाँच दलीय गठबन्धन बेलुकासम्म आइपुग्दा टुटेर नेकपा एमाले र माओवादीसहितको वाम गठबन्धन बनेको छ ।करिब एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता भएको थियो ।
त्यो भेटवार्ता अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा विवाद रहेका बेला जुरेको थियो । त्यसबेला माओवादी कांग्रेससहितको सरकारमा थियो ।प्रचण्डले एमसीसीमा जे गर्ने हो, राष्ट्रिय सहमतिबाट अगाडि बढौँ भन्दै आफू एमालेका र विशेषगरी केपी ओलीका सबै कुरा सुन्न सक्ने सामर्थ्य लिएर आएको पनि बताएका थिए ।
त्यो दिन प्रचण्डले विगतमा दुवै पक्षबाट कमीकमजोरी भएको भन्दै ती गल्ती र कमजोरी सच्याउँदै, आत्मसमीक्षा गरेर अघि बढ्न तयार रहेको बताएका थिए । तर, ओली प्रचण्डको प्रस्तावमा सहमत भएनन् ।गत वर्ष फागुन १२ मा भएको उक्त भेटपछि यी नेताहरू फेरि पुरानै लयमा फर्किए ।
यो भेटभन्दा पहिला उनीहरू अन्तिमपटक २०७७ साल पुस ४ गते ललितपुरको खुमलटारमा भेटेका थिए । त्यो दिन प्रचण्डसँग भेट गर्न ओली खुमलटार पुगेका थिए ।ओलीले आफूविरुद्ध प्रचण्डको अगुवाइमा लगाइएको १९ पेज लामो उनकै भाषामा ‘आपराधिक आरोपपत्र’ फिर्ता लिनुपर्ने माग राखेका थिए ।
तर, ओलीको उक्त कुरा प्रचण्डले स्वीकारेनन् ।आ–आफ्नै अडानमा रहेका ओली प्रचण्डलाई चुनावको मतपरिणामपछि फोन वार्तासम्म पुर्यायो । प्रचण्डले जितेपछि ओलीले फोन गरेर बधाई दिँदै मिलेर जान प्रस्ताव गरेका थिए । प्रचण्डले सोचौँला भनेर जवाफ फर्काएका थिए ।
तिक्ताका बीचबाट विभाजन भएको नेकपा अन्तत: दुई अध्यक्षको फोन संवादले अलिकति भए पनि नजिक पुग्ने वातावरण बन्यो । यो फोन संवादको सूत्रधार एमाले उपाध्यक्ष सुवास नेम्वाङ रहेको बताइन्छ । नेम्वाङको पहलमा ओलीले प्रचण्डलाई फोन गरेका थिए ।
त्यसपछि पनि नेम्वाङले माओवादी नेताहरूसँग छलफल भने जारी राखे । जसका कारण आजको यो अवस्था आएको एमालेका नेताहरू बताउँछन् ।रुकुमबाट जनार्दन शर्माले चुनाव जिते । दाङबाट चुनाव हारेका एमालेका महासचिव शंकर पोखरेलले शर्मालाई बधाई दिँदै फोन गरे ।
फोनमा बधाई आदानप्रदान भयो । पोखरेलले शर्मालाई सोधे– पार्टी के गर्ने हो ? शर्माले मुसुक्क हाँसेर जवाफ फर्काए– मतपरिणाको नतिजा आएपछि बसेर मिलाउनुपर्छ । पार्टी मिलाउने हो ।लमुजुङमा माओवादीका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभाका उम्मेदवार थिए ।
पृथ्वीसुब्बाले प्रतिनिधिसभामा उम्मेदवार हुन नचाहेको समाचार बाहिरियो । तर, अन्तिमा उनी उम्मेदवार मात्र भएनन्, चुनाव नै जिते । चुनाव जितेका एमाले उपमहासचिवलाई बधाई दिन खादा लिएर पुगे माओवादी महासचिव देव गुरुङ । देव गुरुङले बधाई दिँदै पृथ्वीसुब्बालाई पार्टी मिलाउने काम निरन्तर अगाडि बढाउन पनि सल्लाह दिए ।
माओवादी र एमालेका थुप्रै नेताहरूले चुनावमा एकअर्कासित पराजित भए पनि छलफल र भेटघाटलाई निरन्तर जारी राखे । माओवादी स्थायी कमिटी सदस्य रेखा शर्मासँग हारेका एमाले महासचिव पोखरेल, पृथ्वीसुब्बासँग हारेका देव गुरुङ, जितेका वर्षमान पुन, जनार्दन शर्मा, सुवास नेम्वाङ र विष्णु पौडेल दैनिकजसो फोन संवाद र निरन्तर भेटघाटमा व्यस्त थिए ।
चुनाव सकियो । मतपरिणामा आयो । पाँचदलीय गठबन्धनको पनि बहुमत आएन । एमाले पनि दोस्रो ठूलो दल बन्यो ।माओवादीको पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै थियो । मतपरिणाम आएर निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझाएपछि सरकार बनाउने बाटो खुलेको थियो ।
तर पाँचदलीय गठबन्धनमा पहिला प्रधानमन्त्री देउवा बन्ने कि प्रचण्ड बन्ने भन्नेमा सुषुप्त रूपमा प्रतिस्पर्धा सुरु भयो । यो लडाइँ एमालेले नजिकबाट हेरिरहेको मात्र थिएन, माओवादीका दोस्रो तहका नेताहरूसँग निरन्तर संवादमा पनि थियो ।चुनावी नतिजा आएपछि कांग्रेसले प्रधानमन्त्री मात्र होइन, राष्ट्रपतिमा पनि दाबी गर्न थालेको थियो ।
यो कुरा एमाले र माओवादीका लागि मिलन बिन्दुको सेतु बन्यो । पहिलोपटक नै प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री त कहाँ हो कहाँ, राष्ट्रपति पनि नदिने योजना कांग्रेसका देउवानिकट र इतर समूह दुवैले बुन्न थाले ।त्यसपछि भने प्रचण्ड कांग्रेसको सम्पर्कमा निरन्तर रहे भने दोस्रो तहका नेताहरूलाई एमालेसँग वार्तामा पठाउन थाले ।
चीनमा उपचाररत पुन नेपाल आएपछि झन् घनीभूत रूपमा एमालेको दोस्रो तहका नेतहरूसँग भेटवार्तामा लागे । एमालेबाट चुनाव जितेका सचिव रघुवीर महासेठ १९ गते मंसिर खुमलटार पुगेर प्रचण्डलाई बधाई दिँदै मिलेर जाने ओलीको प्रस्ताव सुनाए ।प्रचण्डले तत्काल केही प्रतिक्रिया नदिए पनि विकल्पको रूपमा तयारी गर्न झन् तीव्रता दिए ।
मंसिर २७ गते राति ९ बजे ट्याक्सी चढेर महासचिव देव गुरुङ केपी ओली भेट्न बालकोट पुगे । गुरुङले बधाई दिन गएको प्रतिक्रिया मिडियालाई दिए पनि दुई पार्टी मिल्ने विषयमा कुरा भएको थियो ।उपाध्यक्ष पौडेल पनि निरन्तर खुमलटार गएर प्रचण्डसँग छलफलमा थिए ।
जसरी पनि मिलेर जानुपर्ने अडानमा एमाले र माओवादीका दोस्रो तहका नेताहरू थियो । उनीहरूले आफूहरूबीचमा संवाद मात्रै गरेनन् दुवै पार्टीका अध्यक्षलाई निरन्तर दबाब पनि दिइ नै रहे । र उनीहरूलाई त्यसका लागि तयार पनि गरे ।माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि निरन्तर एमालेसँग वार्तामा रहे ।
उनले एमालेसँग वार्ता मात्र गरेनन्, माओवादीमा प्रचण्डलाई पनि वाम गठबन्धनका लागि तयार गराए ।पुस ९ गते बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले तत्काल माओवादीलाई सभामुखबाहेक केही पनि नदिने बताएपछि माओवादीका उपमहासचिव पुनले देउवालाई गठबन्धन टुट्ने बताएका थिए ।
गठबन्धन टुट्ने बताएका पुनले सचिव डिलाराम आचार्यलाई लिएर राति ९ बजे बालकोट पुगे ।ओली पहिलादेखि नै पुन र आचार्यलाई पर्खेर बसेका थिए । अन्तिममा एमाले माओवादी मिलेर जाने र पहिलोपटक प्रचण्ड प्रधानमन्त्री हुने सहमति बन्यो ।एमालेले राष्ट्रपति लिने सहमतिपछि १२ बजे पुन र आचार्य फर्केका माओवादीका एक नेताले बताए ।
शनिबार बालकोटमा सहमति भएपछि आइतबार बिहान माओवादीका केही पदाधिकारीहरू खुमलटारमा बसेर छलफल गरे । उक्त छलफलमा पनि प्रधानमन्त्री बटम लाइन बनाएर जाने कांग्रेसले नमाने प्रतिपक्षमा बस्ने भन्दै समाचार चुहाए ।खुमलटार बैठक सकेर प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गए ।
माओवादीका नेताहरू पुन, देवेन्द्र पौडेललगायत पार्टी कार्यालय पेरिसडाँडा पुगे । उनीहरू पुगेपछि एमाले उपाध्यक्ष पौडेललगायत नेताहरू पनि पेरिसडाँडा पुगेर अन्तिम तयारीमा लागे ।शनिबार राति बनेको सहमतिलाई मूर्त रूप दिँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउने खाकासहितको सहमतिपत्र बनाएको माओवादी स्रोत बताउँछ ।प्रधानमन्त्री नपाउने भएपछि आइतबार दिउँसो बालुवाटारबाट गठबन्धन सकिएको भन्दै प्रचण्ड उठेर हिँडे ।
केही छिन पेरिसडाँडा पसेर प्रचण्ड बालकोट पुगे । जहाँ प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीका साथ ओली बसिरहेका थिए । त्यहीँ थपिए रवि लामिछाने, पछि थपिए सीके राउत, रन्जिता चौधरी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह ।अन्तत: आज प्रचण्ड नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । भोलि उनको शपथग्रहरण हुने कार्यक्रम छ ।
Leave A Comment