Latest
img

‘सिधा कुरा प्रधानमन्त्रीसँग’बाट निकालेका रवि ६ वर्षपछि उनकै मन्त्रीमण्डलमा

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्‍पकमल दाहाल प्रचण्डले कुनै समय टेलिभिजन कार्यक्रमबाट निकालेका रवि लामिछाने उनकै मन्त्रीमण्डलका सदस्य बनेका छन्। २०७३ साल साउन १९ गते प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्री’सँगबाट रवि निकालिएका थिए।

प्रचण्ड प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओलीको सरकार थियो। ओली प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम रविले चलाएका थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भने प्रस्तोता फेरिए। रविले चलाइरहेको कार्यक्रम माओवादी केन्द्र निकट पत्रकार बबिन शर्माले सञ्चालन गरे।

२०७३ असोज ५ गते रवि लामिछानेले त्यही ‘ब्रान्ड’ क्यास गर्दै नयाँ कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ल्याउने घोषणा गरे। त्यो बेला प्रचण्डलाई लक्षित गर्दै उनले रोष प्रकट गरेका थिए। आफूलाई कार्यक्रमबाट निकालिनुको कारण सोध्न रविले पटक-पटक प्रचण्डको समय मागेका थिए। तर, प्रचण्‍डले समय नै दिएनन्।

त्यो बेला उनले भनेका थिए, ‘तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ। धेरै कुरेँ र धेरैलाई गुहारेँ। अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यू (पुष्पकमल दाहाल प्रचण्ड)। ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहिनेत गरुँला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतीक्षा रहिरहेनछ।’

लामिछानेले राजनीतिक मैदान रोज्दै गर्दा निशानामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै थिए। त्यसैले सुरुमा प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ बाट चुनाव लड्ने तयारी गरे। असार ७ गते रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे। पार्टी घोषणा कार्यक्रममा उनले भने, ‘अब ‘बा’ उमेरका नेतालाई संसद् छिर्नबाट रोकौं।

देशैभरिबाट एक जनालाई संसद् छिर्नबाट म रोक्छु, त्यसैगरी अरूलाई रोक्न तपाईँहरू देशभरिबाट आउनुहोला।’ यो पनि प्रचण्डलक्षित अभिव्यक्ति नै थियो। कार्यक्रमबाट निकालिएका रविले त्यही बेला लेखेका थिए, ‘जनता र प्रधानमन्त्रीबीचको पुलस्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र सञ्चालकलाई हटाएर तपाईंले के-के न गर्नु होला भन्ने ठानेका थियौं तर नतिजा देखियो।

हुन त कत्रा-कत्रा विषय मिलाउन व्यस्त तपाईंलाई यो विषय नाथे लाग्ला तर मेरा लागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर, दु:ख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापूर्वक खोस्नु भो है। तपाईंसँग कार्यक्रम सञ्चालन गर्ने लालच होइन, तर चित्त चाहिँ नराम्रोसँग दुख्यो।’

प्रचण्डप्रतिको यो आगो रविले मैदानमा प्रस्तुत गर्न पाएनन्। प्रतिनिधि सभाको निर्वाचनमा चितवन-३ छाडेर प्रचण्ड गोरखा-२ बाट निर्वाचित भए। रवि आफैंले पनि चितवन-२ रोजे। बितेका ६ वर्षमा नारायणीमा धेरै पानी बगेको छ। रविले आफ्नो टेलिभिजन कार्यक्रमलाई चर्चित बनाए। त्यही चर्चालाई आड लिएर पार्टी गठन गर्दै २० सांसदसहित प्रतिनिधि सभामा उपस्थित छन्।

यतिबेला रविले प्रचण्डसँगको तिक्तता भुलेर मित्रताको हात बढाएका छन्। प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा उक्लिने भर्‍याङको एउटा सिढी रवि पनि बनेका छन्। रविले राजनीतिमा अनपेक्षित फड्को मारेका छन्। प्रचण्डको मन्त्रीमण्डलमा उपप्रधानसहित गृह मन्त्रालय सम्हाल्नेछन्।

कुनैबेला टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्री’ भनेर प्रचण्डसँग अन्तर्वार्ता गर्न नपाएका रवि यसपल्ट मन्त्रीमण्डलमा सँगै छन्। मन्त्रालयका विभिन्न प्रस्तावमा मन्त्रीका हैसियतले प्रधानमन्त्री प्रचण्डसँग ’सिधा कुरा’ गर्ने कोशिस गर्नेछन्।नेपाल लाईभ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment