माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् ।
माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताए ।
निकुञ्ज आडबाट सडक गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका कामलगायतले गर्दा समयमा काम सक्न गाह्रो भएको निर्माण कम्पनी बज्रगुरू ढुकुचुका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले बताए ।लगभग एक वर्षयता काम ठप्प भएपछि आफूहरू दबाबमूलक अभियानमा लागेको समृद्धिका लागि युवा अभियान माडीका अभियन्ता विपिन पाठकले बताए ।
तत्कल काम सुरू नभए थप कार्यक्रम चलाउने सोही अभियानमा आबद्ध रामचन्द्र लम्सालले बताए ।माडी१ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेलले निर्माणमा भएको ढिला सुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताए । माडीका खोलाहरूमा बन्दै गरेको पुलको काममा पनि ढिलासुस्ती भएको माडीका युवा हरि रानाभाटले बताए ।
अभियानमा आबद्ध रामबन्धु पोखरेलले निर्माण व्यवसायीले समयमा काम गरे माडीवासीले धन्यवाद भन्ने बताए ।हुलाकी राजमार्गको वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले सम्झौता गर्दा ७९ वैशाखमा काम सक्ने भने पनि पछि म्याद थप भएर आउँदो असारसम्म पुर्याएको बताए ।
निकुञ्जलाई रोयल्टी तिरे पनि खोलाबाट गिट्टी बालुवा झिक्न पाइएन भन्ने निवेदन निर्माण कम्पनीले कार्यालयमा दिएको इन्जिजियर मण्डलले बताए ।आउँदो पुस १७ मा बैठक राखेको र त्यसपछि काम सुरू हुने सम्भावना रहेको मण्डलको भनाइ छ । निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले पनि १७ गतेपछि काम सुरू गर्ने बताएका छन् ।
Leave A Comment