Latest
img

मनकामना केबलकारमा अकस्मात् प्राविधिक समस्या, डिब्बाभित्रै थुनिएका यात्रुको आधा घन्टापछि उद्धार

मनकामना केबलकारमा प्राविधिक समस्या आएको छ । जसको कारण केबलकार सेवा अनिश्चितकालका लागि बन्द भएको छ । आइतबार साँझ ७ बजे केबलकार सञ्चालनमा अकस्मात् अवरोध आएको हो । केबलकार व्यवस्थापन पक्षका अनुसार कारका डिब्बाहरु चल्न सहयोग गर्ने मुख्य यन्त्र प्यानल मोटर नै बिग्रिएपछि सेवा तत्कालका लागि प्रभावित भएको हो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले आइतबार राति अकस्मात् बन्द हुँदा कारभित्रै थुनिएका यात्रुको हाइड्रोलिक मोटर प्रयोग गरी पुनः सञ्चालनमा ल्याई उद्धार गरिएको जानकारी दिए । ‘कारभित्र थुनिएकालाई आधा घन्टाको अन्तरालमा उद्धार गरियो, तर झन्डै ३ सय मानिसहरु मनकामनाबाट तल झर्न बाँकी हुँदा समस्या आएको हो’, उनले भने ।

बिहान ७ बजेबाट सञ्चालनमा आएको केबलकार बेलुकी ८ बजेसम्म सञ्चालन गर्ने भनिए पनि समस्या देखिएपछि सेवा रोकिएको उनले बताए । व्यवस्थापन पक्षका अनुसार केबलकारमार्फत मनकामना मन्दिर पुगेका भक्तजनहरुलाई फर्काउनका लागि अबेरसम्म पनि सेवा दिइएको थियो ।

प्राविधिक हिसाबले ठूलो समस्या भएका कारण मर्मतसम्भारका लागि अष्ट्रियामा कम्पनी र प्राविधिकसँग समन्वय भएको छ । आफूहरुले तत्कालै खबर गरेको तर उनीहरु आउँदा र समस्या समाधान हुँदासम्म केही दिन लाग्ने भएकाले सेवा अनिश्चितकालका लागि रोकिएको शेरचनले जानकारी दिए ।

‘मर्मतसम्भारका लागि बेलाबेलामा सेवा नै बन्द गरेर यान्त्रिक परीक्षण गर्ने गरिएको थियो, तर आइतबार ठूलो समस्या देखिएपछि सेवा रोकेका छौ’, उनले भने । यसअघि मर्मतसम्भारको क्रममा पूर्वजानकारी दिने गरिएको र यात्रुलाई सहजता हुने गरेकोमा यसपटक अकस्मात् सेवा बन्द गर्नुपर्दा यात्रुमा समस्या परेको भन्दै व्यवस्थापन पक्षले छिटै सेवा सञ्चालन गरिने बताएको छ ।

बिदाको दिन ६ हजारजति र अन्य दिन झन्डै ४ हजारजति यात्रुले मनकामना केबलकार सेवा लिने गरेका छन् । सबैभन्दा बढी भारतीय दर्शनार्थी रहने गरेका छन् ।विद्युत् आपूर्ति नियमित नहुँदा समस्या देखिएको शेरचन बताउँछन् । ‘दिनकै १० चोटिसम्म विद्युत् आउजाउ हुन्छ, मेसिनरी वस्तुमा विद्युत् आपूर्तिको नियमितता नहुँदा समस्या देखियो’, उनले भने ।

केबलकार सेवा बन्द हुँदा हजारौँ यात्रु प्रभावित हुनेछन् । करोडौँ रूपैयाँ घाटा हुने व्यवस्थापनको भनाइ छ । मनकामना मन्दिरसम्म पुग्नका लागि पैदल र सडकमार्गको पहुँच विस्तार भए पनि अधिक मानिसले केबलकार सेवालाई नै रोजाइमा पार्ने गरेका छन् । हरेक तीन महिनामा केबलकारको मर्मतसम्भार हुने गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment