काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ ।उप तथा गृह मन्त्रालयको शपथ लिइसकेका रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरुलाई पाँच मन्त्रालय चाहिने अडान राखेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान रास्वपाको छ । त्यस्तैगरी कानुन, कृषि, पर्यटन र युवा तथा खेलकूद मन्त्रालय पाउनुपर्ने दाबी सो पार्टीको रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले तीनभन्दा दिन नसकिने अडान राखेका छन् ।
रविबाहेक बाँकी दुई मन्त्री पठाउन भनेको स्रोतले जानकारी दिएको छ ।“३२ सिट रहेको माओवादीले प्रधानमन्त्रीसहित सात सिटमा दाबी गर्दा हामीले पाँच सिटमा दाबी गर्न किन नहुने ?,” सो पार्टीका एक नेताले कुराकानीमा भने ।रास्वपाले आफ्नो सांसदको विज्ञताअनुसार मन्त्रालय तोक्ने तयारी गरेको छ ।
सत्ता गठबन्धनको बैठकमा कुन कुन मन्त्रालय पाउने हो त्यहीअनुसार विज्ञता रहेका सांसदलाई पठाउने तयारी गरेको सो पार्टीले जनाएको छ ।२५ वटा मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको भए पनि नेकपा एमालेले १० मन्त्रीमा दाबी गरेको छ ।जस मध्ये चार जनालाई पठाइसकेको छ ।
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई सरकारमा पठाइसकेको छ ।बाँकी तीन जनाको भने मन्त्रालय अझै टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्री लिइसकेको छ भने बाँकी ६ मन्त्रालयमा दाबी गरेको छ ।
सत्ता साझेदार दलहरु जसपाले ३, जनमत पार्टीले २ र नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरेका छन् ।अब बस्ने अध्यक्षसहितको बैठकले प्याकेजमै सहमति गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।रेशम चौधरी रिहा नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने अडानमा छ ।
उनको रिहाइका लागि सरकारले लगेको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा छ भने सरकारले संसद् बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
Leave A Comment