कतार- कतारमा फिफा विश्वकप खेल्दा अर्जेन्टिनाका खेलाडी लियोनल मेसी बसेको कोठालाई मिनी म्युजियममा परिणत गरिने भएको छ। लियोनेल मेसीले निरन्तर विश्वभरका फ्यानहरूलाई चकित पारिरहेको बताउँदै उनले फुटबल नछोएको अवस्थामा पनि उनीप्रति शुभेच्छा र सम्मान राखिराख्न उक्त कोठालाई संग्रहालय बनाउने बताइएको छ।
अर्जेन्टिनी राष्ट्रिय टिम बसेको उक्त कोठालालाई सर्वकालिक महान खेलाडीको नाममा संग्रहालय बनाउने विश्वविद्यालयले जनाएको छ। युनिभर्सिटी अफ कतारले ट्वीटरमा भनेको छ, ‘फिफा विश्वकपमा लियोनल मेसी सुतेको कोठालाई संग्रहालयमा परिणत गरिनेछ।’ उसले शृंखलाबद्ध रुपमा उक्त कोठाका तस्बिरहरुसमेत सार्वजनिक गरिरहेको छ।
यो पनि -हालसालै कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेपछि यस सिजन २०२२–२३ को बालोन डिओर अवार्ड कसले जित्ला भन्नेमा चासो बढ्न थालेको छ । विश्वकप जितेपछि अर्जेन्टिनाका लियोनल मेस्सीलाई धेरैले यसपटक बालोन डिओरको प्रमुख दाबेदार मानेका छन् ।
क्लब पिएसजीमा पनि उनको प्रदर्शन यो सिजन उत्कृष्ट छ । विश्वकपमा आफ्नै निर्णायक प्रदर्शनमा देशलाई ३६ वर्षपछि विश्वकप जिताएपछि मेस्सीले यसपटक आठौं बालोन डिओर जित्ने दाबी गलत छैन । विश्वकपमा उनले ७ खेलबाट ७ गोल गर्दै ३ गोलमा असिस्ट प्रदान गरे भने ७ मध्ये ५ खेलमा म्यान अफ् द म्याच अवार्ड जित्दै प्रतियोगिताको बेस्ट खेलाडीको अवार्ड पनि जिते ।
यस सिजनको बालोन डिओर कसले जित्न सक्छ भन्ने विषयमा फ्रान्सका युवा खेलाडी किङ्स्ले कोमानले फरक दाबी गरेका छन् । उनले विश्वकप नै बालोन डिओर अवार्डका लागि मुख्य आधार नहुने भन्दै अझै आधा सिजनका खेल बाँकी रहेकाले पर्खिनुपर्ने बताएका छन् ।
साथै, उनले सिजन सकिँदा बालोन डिओर अवार्डका लागि राष्ट्रिय टिमका आफ्ना सहकर्मी केलियन एमबाप्पे पहिलो दाबेदार रहने दाबी गरेका छन् । विश्वकपको फाइनलमा फ्रान्स मेस्सीको टिम अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गोल गरेका थिए ।
उनले ३ असिस्ट र ८ गोलका साथ सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते भने ७ मध्ये ३ खेलमा म्यान अफ् द म्याच अवार्ड जिते ।मेस्सीले अर्जेन्टिनामा साथमा विश्वकपको उपाधि जिते पनि व्यक्तिगत रूपमा एमबाप्पेको प्रदर्शन उत्कृष्ट रह्यो । व्यक्तिगत तथ्यांकको तुलना गर्दा मेस्सीको भन्दा पनि एमबाप्पेको राम्रो रहेको छ ।
यता, क्लब फुटबलमा पनि मेस्सी र एमबाप्पे दुवैका तथ्यांक राम्रो छ । यो सिजन उनले क्लब फुटबलमा २० खेलबाट १९ गोल गरेका छन् भने मेस्सीले पिएसजीका लागि १९ खेलबाट १२ गोल गरेका छन् । तर, असिस्टमा एमबाप्पेभन्दा मेस्सी निकै अघि छन् ।
जर्मन क्लब बार्यन म्युखिबाट खेल्ने कोमानले यो दाबी गरेका छन् कि, विश्वकपको फाइनलमा हारेकै कारण एमबाप्पे बालोन डिओरमा कमजोर प्रतिस्पर्धी बन्नेछैनन् । पिएसजीका साथमा बाँकी सिजनमा उनले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास कोमानले गरेका छन् ।‘विश्वकप नै बालोन डिओर जित्ने मुख्य आधार हो ?
मलाई त्यस्तो लाग्दैन । अवश्य पनि, यो एक आधार हुनेछ । मलाई के लाग्छ भने, व्यक्तिगत रूपमा विश्वकप मेस्सीभन्दा एमबाप्पेका लागि राम्रो रह्यो । उनले फाइनलमा गोल ह्याट्रिक गोल गरे, गोल्डेन बुट जिते । मेस्सीले उपाधि र गोल्डेन बल जिते । तर, उनले पेनाल्टीबिना कति गोल गरे …. ?,’
कोमानले एक अन्तर्वार्तामा भने, ‘गोल्डेन बल मेस्सीलाई दिइँदा म छक्क परें । मेस्सीका लागि विश्वकप राम्रो रह्यो । तर, उनी गोल्डेन बलका लागि दाबेदार होइनन् । मेस्सी भएकै कारण उनलाई दिइयो । कुनै पनि हिसाबले उनी यो अवार्ड जित्न योग्य थिएनन् । तर, यसमा हामीले के गर्न सक्दैनौं ।’
यो सिजन समग्रमा मेस्सीले क्लब तथा अर्जेन्टिनाका लागि गरी १९ गोल गर्दा एमबाप्पेले २७ गोल गरिसकेका छन् । तर, असिस्ट र उपाधि सफलताका आधारमा मेस्सी अघि छन् । यो सिजन युरोपियन च्याम्पियन्स लिगमा मेस्सीभन्दा एमबाप्पे धेरै अघि छन् ।
पिएसजीले यो सिजन लिग १ र च्याम्पियन्स लिग जित्न सके त्यस दौरान एमबाप्पेको योगदान राम्रो रहे उनी मेस्सीकै हाराहारी बालोन डिओरको दाबेदार बन्नेछन् । त्यो बेला व्यक्तिगत तथ्यांकमा को अगाडि छ भनेर हेरिनेछ । ‘हाम्रो हातमा अझै आधा सिजन बाँकी छ । मेरो विचारमा सिजन सकिँदा एमबाप्पेले बालोन डिओर जित्नेछन् । विश्वकप हारेपछि उनको फरक बाटो तय छ ।’
Leave A Comment