काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो ।
रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन ।लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘मन्त्रीज्यूकै आग्रहअनुसार पिर्का नराखिएको हो,’ उनले भने ।लामिछानेले सुरक्षाकर्मीबाट ‘पिर्काबिनाकाे सलामी’ ग्रहण गरेपछि सामाजिक सञ्जालमा प्रसंशा भैरहेको छ ।
‘सञ्चारकर्म गर्दा हाेस् वा सत्ताबाहिर’ हुँदा यस्तो प्रचलनको विरोध गर्दैआएका उनी आफू मन्त्री भएपछि पिर्के सलामीको अन्त्य गरेका हुन् ।यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् ।बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो ।तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनले त्यसमा अवसर पाएनन् ।लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए ।
उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए ।उता गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहले विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न
निर्देशन दिएको हो । निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी दिएको छ ।सुरक्षा अधिकारीले राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको पाइएको भन्दै कर्तव्यपालनाबाहेकको अवस्थामा स्वीकृति लिनुपर्ने गृहले जनाएको छ ।
सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको छ। त्यसका लागि सुरक्षा अधिकारीहरू राजनीतिक दलका नेताहरू निकट देखिने गरेका छन्।स्रोतका अनुसार रवि लामिछानेले गृह मन्त्रीका रूपमा शपथ लिएपछि धेरै सुरक्षाकर्मी उनलाई बधाई दिन गृह मन्त्रालय नै पुगेका थिए।
Leave A Comment