Latest
img

सहकारीद्वारा ३० बिघा जमिनमा जडीबुटी खेती

काठमाडौं । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ ३० बिघा जमिनमा जडीबुटी खेती सुरु गरेको छ ।उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ पर्याप्त उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नम्बर १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।

सहकारीले २०७७ साल मङ्सिरदेखि रु एक करोडको लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । तर पर्याप्त कच्चा पदार्थको अभावमा हप्तामा दुई दिन मात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताउनुभयो ।

उहाँका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट रु ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कूल रु ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपात, लेमन ग्रास, सिटोनेला, हर्दी, नीम, बकाइनो, मसला, तुलसी, बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उहाँले बताउनुभयो ।सहकारीका सदस्यहरूले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ ।

तर, उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिकटन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताउनुभयो ।पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आर्थिक वर्षदेखि औषधिजन्य बिरुवासमेत रोपण सुरु गरेको हो ।

सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर १,४,५ र ६ नम्बर वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।दुई वर्षभित्र एक सय बिघा जमिनमा सिटोनेला, लेमन ग्रास र तेजपात लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लेमनग्रास प्रजातिका बिरुवा रोपिसकेको उहाँले बताउनुभयो ।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरे तापनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग दुई हजार दुई सय शेयर सदस्य छन् । उनी हरूलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ ।

यसो गर्दा शेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन ।”सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो रु आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उहाँको भनाइ छ ।

उहाँले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताउनुभयो । उहाँका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्विन्टल कच्चा पदार्थ उत्पादन हुनेछ ।उहाँले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताउनुभयो । अध्यक्ष दाहालले एकपटकमा उद्योगलाई दुई हजार केजी कच्चा पदार्थ चाहिने बताउनुभयो ।

बाहुनडाँगीमा “तरुल उत्सव” हुँदै- प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा “तरुल उत्सव” हुने भएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।

हात्तीले पनि नखाने, स्वस्थकर खानाका रूपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे सङ्क्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागिएको मेचीनगर–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।“हिजो हाम्रा बाबु बाजेले खाजाका रूपमा खाने तरुलको महत्त्व हराउँदै गयो”,

उहाँले भन्नुभयो, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरूले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”उहाँले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सक्खरखण्ड, वनतरुललगायत परम्परागत कृषि औजारहरूको समेत उत्सवमा प्रदर्शनी गरिने बताउनुभयो ।

वडाध्यक्ष कार्कीले बाहुनडाँगीवासीले दैनिक आउने जङ्गली हात्तीको हुलबाट अन्न जोगाउन नसकेपछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपात, चिया खेती गर्दै आएको बताउनुभयो । उहाँले सुपारी खेतीभित्रै तरुलको व्यावसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरूद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्त्व र खेतीको बारेमा जानकारी दिइने बताउनुभयो ।

उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई समेत उपस्थित गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उहाँको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उहाँले बताउनुभयो ।रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment