Latest
img

अर्जेन्टिनाले विश्वकप जितेको रात एमबाप्पेले मेस्सीलाई यस्तो सन्देश पठाएका थिए-

अघिल्लो आइतबार कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि लियोनल मेस्सीको टिम अर्जेन्टिनाले जित्यो । अर्जेन्टिनाले साबिक च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर उपाधि चुमेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि चुम्दा मेस्सीले भने करियरमा पहिलोपटक उपाधि जिते ।

फाइनल खेलको निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिँदा मेस्सीले १ पेनाल्टी सहित २ गोल गरेका थिए भने पराजित फ्रान्सका एमबाप्पेले २ पेनाल्टीसहित ह्याट्रिक गोल गरेका थिए । मेस्सी फाइनल खेलको म्यान अफ् द म्याच घोषित हुँदा उनी आफैं ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ पनि बने ।

यता, फ्रान्सका एमबाप्पेले फाइनलमा ह्याट्रिक गोल गर्दै कूल ८ गोलका साथ गोल्डेन बुट जिते । फाइनल खेल ७९औं मिनेटसम्म पुग्दा फ्रान्स २–० ले पछि थियो । तर, एमबाप्पेले ८०औं र ८१औं मिनेटमा २ गोल गरेर खेल बराबरी बनाएपछि खेल रोमाञ्चक तरिकाले थप समयमा गएको थियो ।

त्यहाँ पनि १–१ गोल भएपछि खेलको अन्तिम स्कोर ३–३ हुँदा पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ अर्जेन्टिनालाई भाग्यले साथ दियो भने ब्याक टु ब्याक विश्वच्याम्पियन बन्ने सपनामा पानी पोखियो । बडा रोमाञ्चक र सनसनीपूर्ण फाइनल खेलमा उपाधि जितेपछि मेस्सी र अर्जेन्टिनी टिम उपाधि सेलिब्रेसनमा लाग्यो ।

उता, पराजित फ्रान्सका प्रमुख खेलाडी केलियन एमबाप्पे भने बेन्चमा गएर झोक्राएर बसिरहेका थिए । उपविजेताको मेडल थाप्दा एमबाप्पे निकै निराश थिए । उनी कुनै क्षण हाँसेनन् । अर्जेन्टिनाका विजेता खेलाडीका साथमा गोल्डेन बुट बोकेर फोटो खिचाउँदा पनि एमबाप्पे हारको पीडामा डुबिरहेका थिए ।

यसरी विश्वकपको फाइनल हारेर रंगशालाबाट बिदा भएका एमबाप्पेले सोही रात बसेको होटेलबाट विश्वकप विजेता मेस्सीलाई बधाई सन्देश पठाएको उनले खुलाएका छन् । विश्वकपपछि क्लब पिएसजी फर्किएर पहिलो खेल खेलपछि उनले मिडियासँग प्रतिक्रिया दिँदै आफूले मेस्सीलाई केही घन्टापछि नै बधाई सन्देश पठाएको बताएका हुन् ।

विश्वकपको फाइनलमा पराजित भएर पीडामा डुबिरहेका बेला एमबाप्पेले केहीबेरमै मेस्सीलाई बधाई सन्देश दिए । तर, अर्जेन्टिनी टोली उपाधि जितेर देश फर्किएपछि उत्सव मनाउने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले भने निकै फोहोरी र अश्लील तरिकाले एमबाप्पेको मजाक उडाएका थिए ।

आफ्ना गोलकिपरले त्यस्तो हर्कत गरिरहँदा कप्तान मेस्सी भने छेवैमा उभिएर हाँसिरहेका थिए । जसका कारण मेस्सीको आलोचना पनि भयो । राष्ट्रिय टिमका सहकर्मीले क्लब पिएसजीका सहकर्मी एमबाप्पेको मजाक उडाउँदा पनि मेस्सीले नरोकेको भन्दै आलोचना भएको थियो । सो विषयमा हालसम्म मेस्सीले केही बताएका छैनन् ।

तर, एमबाप्पेले भने विश्वकपको फाइनल भएको रात नै आफूले मेस्सीलाई विश्वविजेता बनेकोमा बधाई सन्देश दिएको बताएका छन् । अघिल्लो रात लिग १ मा स्ट्रासवर्गविरुद्धको खेलपछि कुरा गर्दै एमबाप्पेले मेस्सीलाई बधाई दिन आफूले ढिला नगरेको बताएका छन् ।

उनले भनेका छन्– ‘विश्वकपको फाइनलपछि मैले मेस्सीलाई त्यही रात होटेलबाट बधाई दिएको थिएँ । मैले ढिला गरिनँ । खेलमा एकले हार्ने र एकले जित्ने हो । त्यो रात मेस्सी र अर्जेन्टिनामो थियो, हाम्रो थिएन । मैले मेस्सीका लागि खुसी हुँदै बधाई दिएँ ।

उनले मलाई कृतज्ञता जनाए । र, मैले सन्देशको अन्तमा उनलाई भनेको थिएँ– चाँडै पेरिसमा भेटौंला ।’एमबाप्पेले विश्वकपको हार बिर्सेर आफूले पिएसजीमा ध्यान केन्द्रित गरिसकेको पनि बताएका छन् । मेस्सी पिएसजी फर्किन अझै केही दिन लाग्ने भएकाले आफू र टिमले मेस्सीलाई याद गरिरहेको पनि एमबाप्पेले बताए ।

‘मैले विश्वकपको हार भुलेर पिएसजीमा केन्द्रित भइसकेको छु । म हारको पीडामा अल्झेर बस्दिनँ । नयाँ कुराका लागि पाइला चालिसकेको छु । पिएसजीमा हामी मेस्सीको फिर्तीको पर्खाइमा छौं । हामी उनलाई याद गरिरहेका छौं,’ एमबाप्पेले थपे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment