Latest
img

दुर्गममा रहेको यो अस्पताललाई देशकै सर्वोत्कृष्ट अवार्ड

अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । यो अस्पतालले देशभरका अस्पतालमा सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो ।बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो ।

द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्दबहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे ।अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा.मन्दिप पाठकले नेपालमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप हौसला मिलेको बताए ।

स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पतालले बाहिरंग सेवा तथा २४ सै घण्टा अन्तर्गत आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ । यहाँ शल्यक्रियामार्फत प्रसुति सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीका सर्जरीहरू निःशुल्क, मानसिक स्वास्थ सेवा, समुदाय स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

यो पनि -इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ। स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।

स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ। यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ। नगर प्रमुख रणबहाुदर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र सङ्गठनात्मक संरचनासमेत पारित गरिसकेको बताए।

“आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ”, उनले भने, “भौगोलिकरुपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ।”

त्यस्तै उता सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे।

इन्द्रावती गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिए। गाउँठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन्।

आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताए । अस्पताल सञ्चालनमा आएसँगै स्थानीयको आर्थिक भारसमेत कम हुने भएको छ ।

आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गरे। पहिला चौतारा, मेलम्ची तथा काठमाडौँ जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment