विसं २०३० तिरको कुरा हो । नेविसंघ अध्यक्षको हैसियतमा शेरबहादुर देउवा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए । यस प्रसंगमा बीपीका छोरा श्रीहर्ष कोइरालाले २०७५ माघ १४ गते लेखकलाई सुनाएका छन्- बीपीले एकदमै भर गरेका युवामध्ये देउवा हुनुहुन्थ्यो, त्यत्तिकै मेहनती पनि ।
तिनताका पार्टी चरम आर्थिक संकटमा थियो । शेरबहादुरजी कहिले नेपाल त कहिले भारतका विभिन्न भागमा घुमेर सँगठन गर्न सक्रिय हुनुहुन्थ्यो । प्रवासी नेपाली र भारतका विभिन्न भागमा काम गर्ने मजदुरहरु माझ संगठन विस्तार गर्नुहुन्थ्यो । उनीहरुबाट हरेक महिना एक एक रुपैयाँ उठाएर पार्टी चलाउन मासिक ६० हजार रुपैयाँ बीपीलाई दिनुहुन्थ्यो ।
तिनताका बीपीको नेतृत्वप्रति देउवाको ठूलो भरोसा थियो । साहित्यकार कृष्ण धरावासीसँगको अन्तर्वार्तामा कांग्रेस नेता चक्र वास्तोलाले भनेका छन् – बनारसमा बीपी निकट रहेर काम गर्नेहरूमध्येका एक पुराना कांग्रेसी थिए, सुदूरपश्चिमका अर्जुन कठायत ।बीपीका हरेक गतिविधिमा नेपाल र भारतका जासुसको चियोचर्चो हुने नै भयो ।
त्यसैले गोप्य काममा बीपीले कठायतलगायत विश्वासपात्र मात्र खटाउनुहुन्थ्यो । तिहारको समय थियो । दिदीको हातबाट टीका थाप्न शेरबहादुरजी रेलबाट यात्रा गर्दै हुनुहुन्थ्यो । प्लेटफर्मसम्म उहाँलाई पुर्याउन गएका बेला कठायतले शेरबहादुरजीलाई सोधे । उनीहरुको वार्तालाप सम्झिँदा मलाई अहिले पनि रमाइलो लाग्छ ।
कठायत स् शेरबहादुरजी सबै कुरा ठीक छ तर मैले बीपीको (कुनै) एउटा कुरा बुझ्नै सकिन ।देउवा – के कुरा बुझेनौ ।कठायत ………(धेरै नै)देउवा – त्यतिमात्र । हामीले केही नबुझेर त चलिरहेछ । तिमीले किन बुझ्नु पर्यो । पर्दैन । खुरु खुरु काम गर ।तिनताका देउवाको एउटै लक्ष्य थियो पञ्चायतको अन्त्य र प्रजातन्त्र बहाली ।
न सुविधाभोगी जीवन चाहिएको थियो न सत्ताको महत्त्वाकांक्षा नै थियो ।विसं २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य भएपछि सम्पन्न पहिलो संसदीय चुनाव २०४८ मा सुदूरपश्चिमका सबै १८ सिटमा कांग्रेसलाई विजयी बनाएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी गृहमन्त्री भए ।
त्यतिन्जेलसम्म पार्टीमा देउवाको खासै आलोचना हुने गरेको थिएन ।यसैबीच डा. आरजु राणासँग देउवाको विवाह भयो । नवदम्पतीलाई बधाई दिँदै कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले भनेका थिए – ल शेरबहादुरजी बधाई छ । हिजोसम्म तपाईँ हाम्रो मानिस हुनुहुन्थ्यो । अबदेखि आरजुको हुनुभयो ।
राणासँग वैवाहिक बन्धनमा बाँधिएसँगै राजनीतिमा देउवा सफलताको शिखरमा उक्लिँदै गए । विसं २०५१ को मध्यावधि निर्वाचनसम्म आइपुग्दा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको झगडाले कांग्रेस कमजोर थियो । त्यही वातावरण देउवाको सत्तारोहणका लागि अनुकूल बन्यो ।
समकालीन शैलजा आचार्य र रामचन्द्र पौडेललाई उछिन्दै उनी संसदीय दलको नेता र प्रधानमन्त्री बने ।प्रधानमन्त्रीका रुपमा सत्ताको बागडोर सम्हालेपछि देउवामाथि संसदीय व्यवस्था नै विकृत बनाएको आरोप लाग्यो । सांसदहरुलाई महंगा गाडी खरिद गर्न भन्सार सुविधामा दिइयो ।
सरकार टिकाउन आफ्नै सांसदलाई होटलमा थुन्ने र उपचारको बहानामा एकै पटक धेरै मन्त्री बैंकक पठाउने काम भए । सांसदहरुको किनबेच सुरु भयो ।त्यसपछिका दिनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर २०५६ को चुनावमा कांग्रेसले बहुमत ल्यायो ।
तर, नौ महिना नपुग्दै उनलाई अपमानजनक रुपमा सत्ताच्युत गरी तत्कालीन सभापति कोइराला सत्तामा पुगे । विपक्षीमात्र होइन, पार्टीभित्रै पनि कोइरालाको चरम विरोध हुँदैथियो । कांग्रेसको आन्तरिक कलहबाट फाइदा उठाउँदै दरबार २०४६ सालपछि गुमेको अधिकार पुनःस्थापित गर्ने दाउमा थियो ।
यस क्रममा माओवादीविरुद्ध सेनाले असहयोग गरेपछि दरबारसँग खटपट भयो र कोइराला राजीनामा दिन बाध्य भए ।लाभ देउवालाई नै भयो । कोइराला विरोधी समूहको नेतृत्व लिने आँट गरे । यसरी दोस्रोपटक देउवा सत्तामा पुगे । अनि सभापति कोइराला र उनका बीच चुलिएको विवादको सिकार भयो संसद् ।
देउवाले पार्टी र सरकारका मन्त्रीसँग समेत परामर्श नगरी हठात् संसद् भंग गरिदिए । राजाकै सल्लाहमा देउवाले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस ९प्रजातान्त्रिक० बनाए । त्यसको चार महिनामै राजाले देउवालाई सत्ताच्युत गरी दिए । राजाको त्यो कदमविरुद्ध संसद्मा रहेका दलहरू आन्दोलनमा गए ।
पछि देउवाको प्रजातान्त्रिक कांग्रेस पनि आन्दोलनमा मिसियो ।दरबार आन्दोलन तुहाउने खेलमा थियो । आन्दोलको बीचमै राजाले सूर्यबहादुर थापाको राजीनामापछि शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । त्यति बेलै दरबारको पश्चिम गेटमा पत्रकारहरुसँग उनले भनिदिए ‘गोर्खाली राजाबाट न्याय पाएँ ।’
तर, तिनै देउवालाई दोस्रोपटक अपदस्थ गरी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार आफ्नो हातमा लिए ।चुनावै हुननसक्ने बेलामा संसद् भंग गर्दा प्रजातन्त्र दरबारमा बुझाएको आरोप देउवामाथि लाग्यो । विसं २०४६ सालमा स्थापना भएको प्रजातन्त्र पुनर्बहालीका लागि २०६२–०६३ को जनआन्दोलन कुर्नु प-यो ।
यसरी २०५९ मा देउवाले फुटाएको कांग्रेस २०६४ को संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा एक भयो । पार्टी सभापतिमा गिरिजाप्रसाद कोइरालासँग चुनाव हारेका देउवा सुशील कोइरालासँग पनि पराजित भए ।जीवनको अन्तिम समयसम्म पनि सुशील भन्ने गर्थे – हैन देउवालाई पार्टी बुझाउने ?
उनको हातमा गयो भने कांग्रेस समाप्त हुन्छ । लेखकसँगको कुराकानीमा पनि कोइरालाले यस्तो अभिव्यक्ति दिएका थिए । त्यतिबेला मलाई लाग्थ्यो – चुनाव जितिसकेपछि पनि बूढा आफ्ना प्रतिद्वन्द्वीप्रति कति अनुदार भएका ?आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद र अग्रज सुशील कोइरालासँग चुनाव हारेका देउवाले निरन्तर पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरिरहे ।
पार्टीलाई विधान बमोजिम चलाउने र कसैमाथि अन्याय हुन नदिने एजेन्डा लिएर तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति भए ।त्यस यताका दिनमा उनी दुई पटक(पाँचौं कार्यकालका लागि) प्रधानमन्त्री भए । गणतन्त्र स्थापना यता उनको प्रधानमन्त्रीत्वकालमा प्रधानन्यायाधिस सुशीला कार्की र अख्तियार प्रमुख लोकमान सिंह विरुद्ध महाभियोग प्रस्ताव ल्याइयो ।
संसदमा ल्याएको प्रस्ताव वारे वहस भएन । त्यसले नेपाली कांग्रेसलाई त क्षती भयो नै संसदीय व्यवस्था नै वदनाम गरायो ।२०७४ को संसदीय चुनावमा उनकै नेतृत्वमा कांग्रेसले एक तिहाई सिट समेत जित्न सकेन । देउवाले पार्टी पराजयको नैतिक जिम्मेवारी समेत लिएनन् ।
एमाले अध्यक्ष केपी ओलीले नेकपाको दुुई तिहाई वहुमतको सरकार चलाउन नसकेका कारण देउवा पाँचौ कार्यकालका लागि प्रधानमन्त्री बने । ज्यौतिषीले सात पटक प्रधानमन्त्री बन्ने भविश्यवाणी गरेकोमा दंग भएर ।उनकै पालामा फेरी प्रधानन्यायाधिस चोलेन्द्रशमशेर राणा विरुद्ध महाअभियोग ल्याइयो । त्यो प्रस्ताव टुंगोमा पु-याइएन ।
२०७९ को चुनाबमा आफ्नो सत्ता आरोहणलाई केन्द्रमा राखेर माओवादी सहितका दलसंग गठवन्धन गरे । पार्टीलाई वल्ल तल्ल ८९ सिटमा उकाले तर आफू केन्द्रीत राजनीति गर्न खोज्दा मुखैमा आएको सबै गुमाए ।पत्नी आरजुको सल्लाहमा आफू केन्द्रीत सत्ता राजनीति गर्न खोज्दा पार्टीलाई ठूलो क्षति पु-याएको भन्दै सामाजिक सञ्जालहरुमा देउवाले तिव्र आलोचना खेप्नु परि रहेको छ । अन्वेषणबाट
Leave A Comment