Latest
img

भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, घर घरमा दीपावली गरिने

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलबारे देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गर्न लागिएको हो। पोखरा महानगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ।

उद्घाटन समारोहमा व्यापक जनसहभागिता गराइने महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। “विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो। पोखरेलीको साथ र सहयोगबाट लामो प्रतीक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउनेछौं, बेलुका घर घरमा दीपावली गर्न महानगरबासीमा आग्रह गरेका छौं,” मेयर आचार्यले भने।

पोखरा महानगरले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषा सहितको र्‍यालीको आयोजना गरिने जनाएको छ। त्यसै गरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहण सहित नागरिक अभिनन्दन गरिने मेयर आचार्यले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। निर्देशक गौतमका अनुसार, विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएका छन्।

अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए। “कति ‘बिजनेश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो। हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौं,” गौतमले भने।

नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एअरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारस उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमले जानकारी दिए।

चीनको एक्जिम ब्यांकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलका लागि भनेर २०३२ सालमा पहिलो पटक तीन हजार एक सय रोपनी जमीन अधिग्रहण गरिएको थियो। जमीन अधिग्रहणको चार दशकपछि निर्माण प्रक्रिया शुरू भएको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment