Latest
img

गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

गरखा- गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ ।गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो ।

कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । “बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन”, शेर्पाले भने, “बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।”

जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल रु १५ हजारमा खरिद गर्ने गरेको उनले भने एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिए ।उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब आठ लाखको लागतमा उद्योग सञ्चालन गरेको बताए ।

“उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित रु १० हजारदेखि १५ हजार तलब दिने गरेको छु”, शेर्पाले भने, “चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।”उद्योगले उत्पादन गरेको कागज काठमाडौँमा बिक्री हुने गरेको उनको भनाइ छ ।

यो पनि – बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन दलित, भूमिहिनसुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम पुनः सुरु गरेको छ ।निर्वाचन आचारसंहितका कारण स्थागित भएको काम पालिका भित्रका ८ वटै वडाबाट पुनः सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टका अनुसार भुमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने संघिय सरकारको तयारी अनुरुप पालिकाले पालिका भित्रका वडाहरु मार्फत लगत संकलनको काम अघि बढाएको हो ।

लगत संकलन गरी आज (पुस १७ गतेसम्म) विवरण सिफारिस गर्न वडा कार्यालयलाई समय दिइएको गाउँपालिले जनाएको छ । वडाहरुले विवरण सिफारिस गरेर पठाएपछि पालिकाले गर्नुपर्ने थप काम अघि बढने छ ।लगत संकलन कार्यबिधि, २०७८ अनुसार वडा कार्यालयहरुले अनुसूची ७ र ७ (क) को ढाँचामा ७ दिने र १५ दिने सूचना निर्वाचन अघि नै

प्रकाशन गरी सकेको जनाएको छ । तर निर्वाचन आचारसंहितको कारण बाँकी काम स्थगित भएकाले १ हप्ता भित्रमा कसैको दावी बिरोध वा उजुरी परेको भए वडासमितिले वडा स्तरीय सहजकीकरण समितिको सहयोगमा जाँचबुझ गर्न र आबश्यक निर्णय गर्न भनेको छ ।

उजुरी नपरेको भए सोही अनुसारको व्यहोरा सहितको निर्णय गरी ७ दिने तथा १५ दिने सूचना र निर्णयको प्रतिलिपि सहितको बिबरण पालिकामा सिफारिस गरेर पठाउन गाउँपालिकाले निर्देशन दिएको अध्यक्ष भट्टले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment