काठमाडौँ । उरुग्वेका चर्चित फरवार्ड लुइस स्वरेज ब्राजिलियन लिग क्लब ग्रेमिओमा आवद्ध भएका छन् । स्वरेज फ्री-ट्रान्सफरमा ग्रेमिओमा आवद्ध भएका हुन् । उनले क्लबसँग २०२४ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन् ।
यस अघि लिभरपुल, बार्सिलोना र एटलेटिको म्याड्रिड जस्ता क्लबबाट खेलेका ३५ बर्षिय स्वरेज गत जुलाईमा आफ्नो देशको क्लब नासिओनलमा तीन महिना खेलेका थिए । उनले सो क्लबमा १६ खेलमा ८ गोल गरेका थिए भने नासिओनलले उरुग्वेको च्याम्पियनसिप जितेको थियो ।
ग्रेमिओमा आवद्ध भएपछि स्वरेजले आफु ग्रेमिओमा नयाँ चुनौतीको लागि तयार रहेको उल्लेख गरेका छन् । स्वरेजले ग्रेमिओको १७ जनवरीमा हुने पहिलो खेल खेल्ने बताइएको छ । हालै सम्पन्न विश्वकप फुटबलमा उरुग्वे समुह चरणबाट बाहिरिदा स्वरेजले समुह चरणका तिनै खेल खेलेका थिए ।
तर विश्वकपमा स्वरेज गोल गर्न भने असफल भएका थिए ।उता युरोप छोडेर एशियामा फुटबल खेल्न आएका क्रिस्टियानो रोनाल्डोको असर अल नासर क्लबमा देखिन थालेको छ ।कीर्तिमानी रकम पारिश्रमिक लिएर अल नासरमा आवद्ध भएका रोनाल्डोको सकारात्मक असर देखिन थालेको छ ।
मिडिया र सामाजिक सञ्जालमा अल नासरका फ्यानहरु रोनाल्डोको जर्सी किन्न स्टोरमा लाइन लागेको तस्बीरहरु सार्बजनिक भएका छन् । फ्यानहरुले रोनाल्डोको जर्सी किनेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।त्यस्तै रोनाल्डोको असर अल नासरको इन्ष्टाग्राम एकाउन्टमा पनि देखिएको छ ।
रोनाल्डोले अल नासरमा सम्झौता नगर्दा उसको इन्ष्टाग्राम एकाउन्टमा ९ लाख ९० हजार फलोअर रहेका थिए । तर अहिले रोनाल्डोलाई भित्र्याएपछि यो समाचार तयार गरुन्जेल पाँच गुणाभन्दा बढी बढेर ५३ लाख पुगिसकेको छ । रोनाल्डो सामाजिक सञ्जालमा धेरै फलोअर भएका व्यक्ति हुन् ।
इन्ष्टाग्राममा रोनाल्डो सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । उनका अहिले ५२६ मिलियन फलोअर रहेका छन् । अहिले अल नासरको पनि १० मिलियन फलोअर छिटै पुग्ने विश्लेषण गरिएको छ ।त्यस्तै अल नासरका अन्य सामाजिक सञ्जाल एकाउन्टमा पनि फलोअर तिब्र गतिमा बढिरहेका छन् ।
Leave A Comment