Latest
img

राजाको दरबार रहेको क्षेत्रमा ३५ मिटरभन्दा लामा गुफा भेटिए

कालीकोटको नरहरिनाथ गाउँपालिका-९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् । विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् ।

ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।काँडाकोटमा प्राचीन खस राजाहरूको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ-८ लालुका शिक्षक नवराज शाहीले बताए । ‘प्राचीन कालमा राजाको दरबार रहेको क्षेत्र हो’,

उनले भने, ‘त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।’काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिए ।

‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ’, उनले भने, ‘त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।’ निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उनले जानकारी दिए ।

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताए । ‘विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ’, उनले भने, ‘यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।’

यो पनि – कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन्। नागरिकहरु आर्थिक अभाव, गरिबी र चेतनाको कमीका कारण रोग पालेर बस्ने र सामान्य उपचारसमेत पाउन नसक्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

डोल्पाको जगदुल्ला गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको जीवनरक्षाका लागि निःशुल्क स्वास्थ बीमा कार्यक्रमको सुरूवात गरेको जनाएको छ। यसअघि सुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहजीकरण गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष नारासिं रोकायाले बताए।

“नागरिकको स्वास्थ्यप्रति गम्भीर छौँ। उपचारमा सहज होस् भनि स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हौँ,यसपटक स्वास्थ्य क्षेत्रको बजेट पनि बढाएका छौँ”, उनले भने। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा समानिकरणतर्फ ४५ लाख बजेट विनियोजन गरेको छ ।जाजर कोटको बारेकोट गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखी योजना बनाएको छ।

“विपन्न नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले आपतकालीन उपचार कोषको स्थापना गरेका छौँ”, उनले भने। गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमध्ये २५ प्रतिशत अर्थात् रु १५ करोड रकम स्वास्थ्यका क्षेत्रका लागि विनियोजन गरेको छ । कालिकोटको महावै र शुभकालिका गाउँपालिकाले पनि सबै नागरिकको निःशुल्क स्वास्थ बीमा सञ्चालनमा ल्याएका छन्।

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले आफूले पहिलो निर्णयबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको बताए। गाउँपालिकामा एक हजार छ सय घरमध्ये हालसम्म तीन सयभन्दाबढीमा घरपरिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेको उनले जानकारी दिए। गाउँपालिकाले चालु आवको कूल बजेटको ३२ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ।

कालिकोटकै शुभकालिका गाउँपालिकाल पनि स्वास्थ्य क्षेत्रका लागि रु ४० लाख बजेट विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यले पाँच वर्षभित्र सबै नागकिरको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने लक्ष्यअनुसार एक वर्षमा एक हजार एक सय घरपरिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment