काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि पुस २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउँदै सार्वजनिक विदा दिनुपर्ने दबाव सृजना भएको छ।
किनभने राप्रपाले सरकारमा सहाभागिता जनाउन पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने बटमलाई अघि सारेको छ। पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस सार्वजनिक विदा लिएर राष्ट्रिय एकता दिवस नमनाए सरकारमा सहभागी हुने बाटो बन्द हुने राप्रपाले चेतावनी दिइसकेको छ।
राप्रपाको सो मागप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक छन्। तर यो विषयमा प्रधानमन्त्री प्रचण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। उनी राप्रपाको समर्थन गुमाउन पनि चाहँदैनन्, तर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै क्रममा छन्।
राप्रपाले आफ्नोतर्फबाट सरकारको न्युनोतम साझा कार्यक्रममा पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने गरी समावेश गरेको छ। तर यो विषयमा निर्णय भइनसकेको कार्यदलका सदस्य एवं राप्रपा महामन्त्री धवलसमशेर राणाले जानकारी दिए।
‘हामीले यो विषयलाई न्युनोतम साझा कार्यक्रममा आफ्नोतर्फबाट समावेश गरेका छौं,’ राणाले डिसी नेपालसँग भने, ‘तर यो विषयमा निर्णय भइसकेको छैन।’माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल यो विषयमा पहिला गठबन्धनभित्र छलफल हुनुपर्ने बताउँछन्।
‘पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक विदा दिने विषयबारे पार्टीमा कुनै छलफल भएको छैन,’ गजुरेलले भने, ‘यो विषयमा पहिला गठबन्धनभित्र छलफल हुनुपर्छ।’उनले गठबन्धनमा धेरै दल सहभागी भएकाले धेरै विषयमा अड्को थाप्न नहुने बताए।
‘आज एउटाले एउटा विषय उठाउला भोलि अर्को दलले अर्को विषय उठाउँछ,’ उनले भने, ‘माग बढ्दै जाँदा भोलि गठबन्धन अप्ठेरोमा पर्न सक्छ। यस्ता विषयमा पहिला गठबन्धनभित्र छलफल गरेर एउटा धारणा बनाउने उपयुक्त हुन्छ।’
Leave A Comment