काठमाडौं –
पछिल्लो समय देशभरबाट जनमत व्यापक रुपमा कम हुदै गएको नेकपा माओवादी केन्द्र घरझगडाका कारण आउने
चुनावमा पत्तासाफ हुने चिन्ता माओवादीकै नेताकार्यकर्ताहरुले गर्न थालेका छन् । बुधबारको एउटा घटनाले माओवादीका कट्टर कार्यकर्तालाई निराशातर्फ मात्र मोडेको छैन् ।
माओवादीभित्र आसन्न चुनावमा अन्तर्घात भएर पार्टीले ठूलो मूल्य चुकाउनुपर्र्ने भन्दै अभिव्यक्ती आउन थालेका छन् ।
महाधिवेशन भएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी मनोनयन गरे ।
आफ्नो खल्तीबाट नाम झिक्दै भटाभट बाँडे । कल्पनै नगरेकाले महत्वपूर्ण पद पाए ।
ज–जसले जे अपेक्षा गरेका थिए, त्यो पाएनन् । पदाधिकारी मनोनयनलाई लिएर माओवादीभित्र कसरी भुसको आगो झैं असन्तुष्टि बढिरहेको छ भन्ने बुधबार सबैले थाहा पाए ।
काठमाडौंमा आयोजित क्रान्तिकारी फोर्स गठन कार्यक्रममा प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच तीव्र घोचपेच चल्यो ।
आफूलाई महासचिव नबनाएको झोक शर्माले प्रचण्डलाई राम्रैसँग दिए ।
जवाफमा प्रचण्डले पनि जनार्दनलाई हुर्काउन र बढाउन आफ्नो ठूलो भूमिका रहेको भन्दै धेरै मात्तिए पखेंटा काटिन सक्ने चेतावनी दिए ।
पार्टीका शीर्ष नेताबीचको घोचपेचले आगामी निर्वाचनमा माओवादीमा ठूलै अन्तर्घात हुने संकेत देखिएको छ ।
पार्टीका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी पदाधिकारी चयनप्रति सार्वजनिक रूपमै आलोचना गरेपछि अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित भएका छन् ।
शर्माको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा कडा टिप्पणी नगरे पनि दाहालले निकटस्थसँग ‘अति नै हुन थाल्यो’ भन्न थालेका छन् ।
माओवादीबाट मोहन वैद्य र बाबुराम भट्टराई बाहिरिएपछि सार्वजनिक मञ्चमा अरू नेताले दाहालविरुद्ध बोल्न हिम्मत गरेका थिएनन् ।
पार्टीमा दाहालको यस्तो प्राधिकार छ कि उनले जे चाह्यो त्यही हुँदै आएको छ ।
सशस्त्र युद्धको बेलादेखि नै दाहालविरुद्ध उत्रने नेतालाई पार्टी छाड्नुपर्ने वा खुम्चेर बस्नुपर्ने अवस्थामा पुर्याइएको छ ।
शर्मा आफूविरुद्ध बोल्ने नेताका रूपमा निस्किएपछि दाहाल आक्रोशित बनेको उनीनिकट नेताहरू बताउँछन् ।
दाहालले त्यही मञ्चमा शर्माप्रति संकेत गर्दै पार्टीमा गुट नै गुट भएको बताएका थिए ।
बुधबार पनि शर्माले आलोचना गरेपछि दाहालले आफूमाथि अपमान भएको ठानेको निकट नेताहरू बताउँछन् ।
पार्टी नै खुइलिनेप्रति उपमहासचिव शर्मा सचेत हुनुपर्ने बताए । ‘जनार्दनजी पार्टीको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्दै हिँड्नुभएको छ,’ उनले भने,
‘अध्यक्षले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको काण्डमा अध्यक्षले रेस्क्यु गरेर शर्मालाई पुनः अर्थमन्त्री बनाउनुभयो । उहाँ अहिले अध्यक्षविरुद्ध उत्रिनु गलत हो ।’
Leave A Comment