Latest
img

चार दल मिल्दा कम्युनिष्ट कि गैरकम्युनिष्ट पार्टी बन्छ ?

काठमाडौं । प्रत्येक निर्वाचनमा जनमत गुमाउँदै गएका केही राजनीतिक दल एकीकृत हुँदै बलियो शक्ति बन्ने प्रयासमा जुटेका छन् । तर, एकीकृत पार्टीको आचरण कस्तो हुने भन्नेमा आधारभूत आधार नै तय हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी, जनता समाजवादी पार्टी (जसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकताको तयारीमा जुटेका हुन् ।एकताका लागि नेसपाबाहेक तीनै दलले एकताका लागि कार्यदल गठन गरेका छन् ।

नेसपाले पनि आजै वार्ता दल गठन गर्ने तयारी गरेको छ । त्यसपछि कार्यदल स्तरमा औपचारिक छलफल हुनेछ ।एकताका लागि गठन भएका कार्यदलले अनौपचारिक छलफल भने अघि बढाएका छन् । तर, अनौपचारिक छलफलबाट औपचारिक छलफलको वातावरण बनाउन कार्यदलका सदस्यहरु लागिपरेका छन् ।

यी दलबीच एकताका लागि यसअघि पनि प्रयास नभएको होइन । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएसँगै यो बहस प्रारम्भ भएको हो । तर, यसले गति लिन सकेको थिएन ।यसबीचमा यी पार्टीहरुबीच एकता हुँदा कम्युनिष्ट या समाजवादी पार्टी बनाउने ?

भन्ने बिषयमा औपचारिक÷अनौपचारिक फोरमहरुमा छलफल भएका छन् । तर, एकता गर्ने चाहने पार्टीहरु नै सिथिल हुँदा यसले गति लिन नसकेको हो ।पछिल्लो समय भने इकताका लागि कार्यदल नै गठन गरेपछि यसले गति लिने देखिएको छ । र, कम्युनिष्ट या गैरकम्युनिष्ट पार्टी भन्ने विषयमा मिहीन छलफल हुने परिस्थिति बनेको छ ।

यी चार शक्तिका माओवादी र एकीकृत समाजवादी कम्युनिष्ट नै हुनुपर्ने पक्षमा देखिन्छन् भने जसपा र नेसपा भने समाजवादी आचारणको पार्टी बन्नुपर्ने जोडमा देखिन्छन् ।कम्युनिष्ट पार्टी बनाउनुपर्ने पक्षमा रहेको माओवादी र एकीकृत समाजवादीका नेताहरुले अहिलेका सबै उपलब्धि कम्युनिष्ट नेतृत्वमै भएको र

कम्युनिष्टप्रति नेपाल जनताको आशा र विश्वास कायमै रहेकाले कम्युनिष्ट पार्टी बनाउनुपर्ने जोड्मा छन् ।तर, जसपा र नेसपा भने कम्युनिष्ट पार्टी गठन गर्दा गैरकम्युष्टिहरु पार्टीमा अटाउन नसक्ने भएकाले समाजवादी आचरणको पार्टी गठन गरेर अन्य शक्तिहरुलाई पनि समेट्नुपर्ने पक्षमा छन् ।

जसपा र नेसपा ‘सेन्टर टु लेफ्ट’ प्रकृतिकै भएपनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेसपा अध्यक्ष बाबुराम भट्टराईले यसअघि नै आफ्नो र आफू नेतृत्वको पार्टी गैरकम्युष्टि समाजवादी पार्टी भनिसकेका छन् । त्यसैले उनीहरु कम्युनिष्ट पार्टी बन्न आनाकानी गरिरहेका छन् ।

यता, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आजभोली नै गैरकम्युनिष्ट बनिहाल्न सक्ने अवस्थामा छैनन् । नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका यी दुई नेता कम्युनिष्ट शक्ति नै आजसम्मको निर्भिकल्प भन्ने पक्षमा छन् ।

यी चार शक्तिबीच ‘कम्युनिष्ट या गैरकम्युनिष्ट पार्टी’ भन्ने विषय टुंगो नलागेसम्म एकताका लागि थप प्रगति नहुने देखिन्छ । यो विषय टुंगो नलागेसम्म अन्य विषयहरुमा सहमति जुटे पनि एकता प्रकृया अघि बढ्न निक्कै मुस्किल हुने चारै दलको आधारभूत बुझाइ रहेको छ ।

एक्तापछि कम्युनिष्ट पार्टी नै बनाउने सन्दर्भमा बाबुराम लचक छन् । विगतमा ‘अब म कम्युनिष्ट होइन’ भनेता पनि परिस्थितिले बाबुरामलाई कम्युनिष्ट हुनु नै उचित भन्ने अवस्थामा पुर्याएको छ ।मंसिर ४ को निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर मैदानमा उत्रेको बाबुरामको एक किसिमले माओवादीमा समाहित भइसकेको रुपमा समेत हेरिएको छ ।

यस आधारमा बाबुराम अन्तिम अवस्थामा कम्युनिष्ट बन्न तयार हुने देखिन्छ । किनकि, माओवादी छोडेपछि बाबुरामले जीवनकै धेरै असफलता ब्यहोरेका छन् ।तर, उपेन्द्र भने कम्युनिष्ट बन्न त्यति सहज मान्दैनन् । कम्युनिष्टलाई अत्यन्तै निच मानेर ‘कमाउनिष्ट’ भन्दै आएका उपेन्द्रले आफूलाई धेरै पहिला नै कम्युनिष्ट कित्ताबाट सारिसकेका हुन् । त्यसैले उनी सजिलै कम्युनिष्ट बन्ने अवस्था छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment