घण्टाघर अर्थात् घडि राखिएको घर वा टावर । घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेका लागि समय जनाउने विश्वसनीय उपकरण समेत हो । एकनासले एउटा काममा अलमलिएको बेला घण्टैपिछ्छे बज्ने आवाजले चनाखो बनाइदिन्छ ।
धरानको मुख्य पहिचान भनेको धरान घण्टाघर नै हो । धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजसँगै आफ्नो दैनिकी शुरु गर्छन् । यति मात्र होइन धरानको बसपार्कसँगै घण्टाघर रहेको कारण यहाँबाट छुट्ने प्रायः सबै सवारी साधन घण्टाघरकै घडिलाई हेरेर छुट्छन् ।
तर लामो समयदेखि धरान घण्टाघरको घडि विग्रिएपछि यी सबै दैनिकी क्रमभंग भयो ।घण्टाघरको पेटीमा सिलाइ व्यवसाय गरिरहेका एक मजदुर भन्छन् –‘पहिला पहिला घण्टा–घण्टामा यसको घण्टी बज्थ्यो, हामी यसकै समय अनुसार चल्थ्यौ । लाग्थ्यो घण्टाघरको नजिक बस्दा यही सुविधा छ, जसले घण्टा–घण्टामा समय वितेको सचेत गराउथ्यो ।’
सर्वसाधारण घण्टाघरले समयको जनाउ नदिएकोमा रुष्ट छैनन् तर धरानको पहिचान बनेको घण्टाघरलाई स्थानीय सरकारले वेवास्ता गरेर घडि समेत मर्मत नगर्दा यसले धरानकै बेइज्जत भएको महसुस गर्छन् ।पहाडी रुटमा बुकिङ गर्ने एक कर्मचारी भन्छन् –‘धरान एक नं. प्रदेशका अन्य सहरमा जाने मुख्य हव हो, यहाँ चारैतर्फका मानिस आउछन् ।
उनीहरुलाई घण्टाघरको सुन्दरताले आकर्षण त गर्छ तर घडि नै विग्रिएको थाहा पाएपछि घण्टाघरको सबै आकर्षण एकाएक फिका हुन्छ ।’लाहुरेहरुको शहरको उपमा पाएको धरानलाई थप पहिचान दिन घण्टाघर सफल छ । घण्टाघर हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको लगानीमा बनेको हो ।
यसको व्यवस्थापन अहिले धरान उपमहानगरपालिकाले हेर्छ । घण्टाघर परिसर भित्र बगैँचा, भूकम्प स्मारक, उद्यान, आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने ठाउँ समेत छ ।अण्डरग्राउण्ड समेत गरेर ६ तले घण्टाघरबाट धरानको दृष्यावलोकन गर्नेहरु पनि उत्तिकै हुन्छन् ।
प्रवेश शुल्क वापत दैनिक ५ देखि १० हजारसम्म धरान उपमहानगरपालिकाले आम्दानी गर्छ । घण्टाघरको रेखदेख गर्ने कर्मचारी राजा लिम्बूका अनुसार घडि मर्मत गर्ने मेकानिक धरानमा २ जना छन् तर उपमहानगरपालिकाले वेवस्ता गरेका कारण घडि मर्मत नभएको हो ।
धरानको मुख्य पहिचानको रुपमा रहेको घण्टाघरको घडि मर्मत गर्न धरान उपमहानगरपालिकाले ध्यान नपु¥याउदा यसले धरानलाई नै गिज्याइरहेको छ ।
Leave A Comment