Latest
img

माओवादीलाई एमालेको यति ठूलो प्रस्ताव: के गर्लान् प्रचण्ड ?

काठमाडौं –

सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर खटपट चलिरहँदा नेकपा एमालेले माओवादी केन्द्रलाई आफूतिर तान्न प्रयास जारी राखेको छ ।

यसैक्रममा एमालेले माओवादीलाई कांग्रेससँग कुरा नमिले आफूतिर आउन भन्दै आकर्षक प्रस्ताव पठाएको छ ।

एमालेले माओवादीलाई ६५ देखि ७० सिटसम्म दिन सक्ने प्रस्ताव पठाएको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार यो प्रस्तावमा माओवादीका तर्फबाट जवाफ आएको छैन ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुधबार बुटवलमा आफू निकट केही नेता कार्यकर्तासँगको गोप्य भेटमा माओवादीलाई यस्तो प्रस्ताव पठाएको खुलासा गरे ।

उनले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै माओवादीलाई पठाएको प्रस्तावबारे सुनाएका थिए ।

बुटवलको एक होटलमा भएको भेटमा उपाध्यक्ष पौडेलले सहभागीलाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए ।

उनका अनुसार यदि कांग्रेसले धेरै सिट दिएन भने तालमेलका लागि एमाले तयार रहेको शन्देश माओवादीलाई पठाइएको छ ।

पौडेलका अनुसार ६० देखि ७० सिट माओवादीलाई दिन सकिने भन्दै त्यही अनुसार अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पठाएका छन् ।

तर माओवादीका तर्फबाट अहिलेसम्म जवाफ नआएको पौडेलले सुनाएका छन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी कांग्रेसले राख्ने लगभग सहमति जुटेको छ ।

१६५ सिटमध्ये आधा कांग्रेसले राख्ने र बाँकी आधा अन्य दलले भाग लगाउने सहमति भए पनि नयाँ समस्या उत्पन्न भएको छ ।

कांग्रेस इतरका दलमा सिट कम भएको भन्दै नयाँ विवाद देखिएको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिटमा दाबी गरेका छन् ।

दुई दललाई पचास सिट दिँदा माओवादीको भागमा ३० भन्दा केही बढी सिट मात्रै पर्ने देखिन्छ । जसका लागी माओवादी तयार हुने सम्भावना नभएपछि सहमति जुट्न सकेको छैन ।

यहीबीचमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर रुपमा छलफल गरिरहेको सूचना गठबन्धन दलमा पुगेको छ ।

यादवलाई सकेसम्म गठबन्धनमा टिकाउने नत्र लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई भित्र्याउनेबारे पनि छलफल चलिरहेको छ ।

यही थाहा पाएपछि एमाले अध्यक्ष ओलीले लोसपा नेताहरुसँग भेटेर चुनावमा गठबन्धन गर्न आग्रह गरेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले यसबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने जवाफ ओलीलाई दिएका छन् ।

शुक्रबार दिनभर गठबन्धनमा खटपट भएको भन्ने खवर पनि यही कोणबाट उठेको थियो । कुलमध्ये आधा सिट लिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

तर शेखर कोइराला लगायतका नेता यसमा सहमत छैनन् । त्यसैले गठबन्धनको बैठक बस्न पनि ढिलाइ गरिएको छ ।

सभापति देउवाले पार्टीभित्र वातावरण बनाउन भन्दै केही समय माग गरेका छन् ।

उनले शुक्रबार एक कार्यक्रममा गठबन्धनको जित नै कांग्रेसको जित भन्दै पार्टीमा वातावरण बनाउने प्रयास गरेका छन् ।

अहिलेसम्म सत्ता गठबन्धनमा सिट बाँडफाटलाई लिएर कांग्रेस र माओवादी लगभग सहमत छन् । तर एकीकृत समाजवादी र जसपालाई मिलाउन सकस देखिएको छ ।

यही मौका छोपेर एमालेले प्रचण्डलाई मागेजति सिट दिने प्रस्ताव पठाएको छ । माओवादीले कांग्रेससँग ६० सिट मागेको छ ।

एमालेले त्यो भन्दा धेरै सिट दिने प्रस्ताव गरेर माओवादीलाई फकाउने प्रयास गरेको छ । अब यो प्रस्तावमा माओवादीको प्रतिक्रिया कस्तो आउँछ जवाफ पर्खिरहेको उपाध्यक्ष पौडेलले बताएका छन् ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment