Latest
img

‘भ्रष्टाचार छानबिनका विषयमा सरकार निर्मम भएर खडा हुन्छ’: रबि लामिछाने

​राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले जनताले आशाको मत पाएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले जनताले निराशाको मत दिएको उल्लेख गर्ने दलहरूलाई जवाफ दिँदै आफूहरूले आशाको मत पाएको बताएका हुन्।

‘तपाईँहरूले पाएको मत निराशाको मत भनिन्छ तर यो नेपाली जनताको आशाको मत हो। यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरूमाथि गरिएको आशाको मत हो,’ उनले भने। उनले आफूहरू जस्ता नयाँ दलको आगमन जनताले गरेको अपेक्षा भएको उल्लेख गर्दै जनताको अपेक्षामा कुठाराघात गरिए मुलुक चरम संकटतर्फ जाने बताए।

लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिनका विषयमा सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने ।गृहमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

उनले भ्रष्टाचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले अघिल्लोपटक गरेको बाचा पूरा गरेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गत भदौमा संसदमा अरू साथीहरू लिएर आउँछु भन्ने वाचा पूरा गरेको बताएका हुन्। ‘यो संसद छोड्ने बेलामा धेरै साथीहरू लिएर आउँछु भनेको थिएँ। धेरै लिएर आउन त सकिनँ तर, जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएका छौं,’ उनले भने।

अध्यक्ष लिङ्देनले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै अगाडि जान सक्षम हुने बताए। उनले देशका सबै सूचकाङ्कहरु अर्थतन्त्र, बेरोजगारी, भ्रष्टाचारलगायतको चरम बेथिति रहेको बताए। उता नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गर्दै

जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका छन् ।प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गदै पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको बताए ।

ओलीले भने– नयाँ जनादेश माग्न जानु प्रतिगमन हो भने संसदीय व्यवस्थाका जननी बेलायतमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment