प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन् । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै भने,“जनताले दिएको म्यान्डेडअनुसार हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गर्यौ ।”
कार्कीले संघीयता कार्यान्वयनको लागि कतिपय अधिकार केन्द्रबाट प्रदेशमा हस्तान्तरण गर्न ढिलाई हुँदा समस्या भएको बताए ।मन्त्रालयका सचिव उमेश बस्नेतले कर्मचारी र राजनीतिक नेतृत्वको सुझबुझपूर्ण समन्वयमा जनअपेक्षा अनुरुपका कार्य गर्न सकिने बताए । मन्त्री कार्कीले समेत कर्मचारीहरुलाई मायाको चिनो प्रदान गर्दै मन्त्रालयबाट विदा भए ।
त्यस क्रममा आफू चढ्दै गरेको सवारी साधन मन्त्रालयमै जिम्मा लगाए अनि आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गरे ।मन्त्रालयका कर्मचारीले सवारीमै बसेर जान आग्रह गरिहेका थिए । तर, कार्कीले मानेनन् । अनि राजवंशीलाई भने जाऊ अब । त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट विदा भए ।
यो पनि – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराए । उनले जनताको नाममा शपथ लिएका छन् ।एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए ।
आजै मन्त्री नियुक्त भएका एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूले पनि शपथ लिए । उनीहरूको मन्त्रालय तोक्न बाँकी छ ।सत्तासाझेदार माओवादी केन्द्र आलोपालोको सहमति नबनेसम्म मन्त्री नपठाउने भनेर बसेको छ । संसदीय दलको बैठकले केन्द्रमा निर्णय सच्याउन लेखेर पठाउने निर्णय गरेको सांसद गणेश उप्रेतीले बताए ।
त्यस्तै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए । एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।
एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ (दीपक मनाङे) चुनावपछि प्रवेश गरेका थिए ।उनले स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गरेको बताइएको छ ।
Leave A Comment