काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।कांग्रेस कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने ‘असहमति’ जनाएका छन् ।
चार नेताले सत्ता र प्रतिपक्षको सुनिश्चितता नभएको हुँदा आफूहरुको ‘असहमति’ रहेको बताएका थिए । नेता केसीले प्रतिपक्षको भूमिका नरहने गरी समर्थन गर्न नसकिने बताए ।यसअघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा
सभापति देउवाले विगतको समझदारीअनुरुप प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिँदा गल्ती भएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उनले पार्टी पहिलो भएर पनि प्रतिपक्षमा बस्नुपर्दा केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
त्यसपछि कतिपय पदाधिकारीले विश्वासको मत दिएपछि पुरानै अवस्था फर्काउने ग्यारेन्टीका विषयमा जिज्ञासा राखेका थिए भने कतिपयले कांग्रेसले प्रतिपक्षामै बसेर संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए । निर्णय कार्य सम्पादन समितिबाट गराउने तयारीसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएको थियो ।
धुम्बाराहीमा बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विरोध जनाएका थिए ।उनीहरुले कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्ने धारणा राखेका थिए । अहिले विशेष परिस्थिति निर्माण भएको बताउँदै कांग्रेसले पक्षमा मत दिने निर्णय गरेको हो ।
त्यसोगर्दा पछि राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सहज हुने र गठबन्धन लामो समयसम्म जाने उनको विश्वास छ ।उता माधवकुमार नेपाल नेतृत्वको पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेको छ । सो पार्टीको सचिवालय बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
“यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेन्डा राखिनेछन् । एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” प्रवक्ता जगन्नाथ खतिवडाले भने ।यसो गर्दा सात दलबाहेक कांग्रेस र एकीकृत समाजवादीले पनि प्रचण्डलाई मत दिएमा २६० बढी मत प्राप्त गर्ने देखिन्छ ।
अहिले संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन् ।स्वतन्त्रमध्ये तीनजना सत्तापक्षको बेञ्चमा उभिइसकेका छन् भने एकजना नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
प्रचण्डको पक्षमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाको मत पर्ने निश्चित छ ।
Leave A Comment