एजेन्सी – कम उमेरमै धेरै राम्रो सफलता हाँसिल गरिसकेका केलियन एम्बाप्पेको भाग्य चम्किने सम्भावना बढेको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार २४ वर्षिय एम्बाप्पेको भाग्य छिट्टै नै चम्किने सम्भावना देखिएको हो।
विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले राष्ट्रिय टोलीबाट सन्यास लिएसँगै एम्बाप्पेको भाग्य चम्किने सम्भावना बढेको फ्रेन्च मिडियाहरुले जनाएका छन्। लोरिसलेले राष्ट्रिय टोलीबाट सन्यास लिएपछि अब एम्बाप्पे फ्रेन्च राष्ट्रिय टोलीको कप्तान बन्न सक्छन्।
सोमबार राति मात्रै लोरिसले राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए। विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे। फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएको केहि दिन नबित्दै उनको सन्यास घोषणा भएको हो।
२०१८ को च्याम्पियन फ्रान्स २०२२ मा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। लोरिसले नोभेम्बर २००८ मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट २१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।
उनले राष्ट्रिय टोलीका लागि १ सय ४५औं खेल खेलेका थिए। लोरिसले १ सय २१ पटक फ्रान्सको कप्तानी गरेका छन्। लोरिसले सन्यास लिएसँगै फ्रान्सको राष्ट्रिय टोली कप्तान बिहिन हुन पुगेको छ। अहिले देखि नै फ्रान्सको राष्ट्रिय टोलीका कप्तान को होलान् भन्ने बहस पनि अहिले देखि नै छेडिएको छ।
यति बेला युवा स्टार एम्बाप्पे नै फ्रान्सको कप्तानको रुपमा अगाडी देखिएका छन्। कम उमेरमै बटुलेको राम्रो अनुभवका कारण पनि उनलाई कप्तानको रुपमा चर्चा गरिएको हो। एम्बाप्पेले २४ वर्षको उमेरमै दुई विश्वकप फाइनल खेलिसकेका छन्। साथै उनी फ्रेन्च टोलीका लागि महत्वपूर्ण खेलाडीको रुपमा पनि रहेका छन्।
फ्रेन्च मिडियाहरुले एम्बाप्पेलाई अहिले देखि नै कप्तानको रुपमा चर्चा गर्न थालिसकेका छन्। एम्बाप्पेले अहिले सम्म फ्रान्सका लागि कुल ६६ खेल खेलेका छन्। जसमा उनले ३६ गोल गरेका छन् भने उनको नाममा २३ असिस्ट पनि छ। एम्बाप्पेले विश्वकपमै १४ खेल खेलेका छन्। विश्वकपमा १२ गोल गरिसकेका उनले ३ असिस्ट पनि दिएका छन्।
Leave A Comment