Latest
img

पृथ्वीनारायण शाहको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना

नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्नुहुने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ। सेनाले बुधबारदेखि नै त्यहाँ हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ। यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको मार्गमा विसं २०७६ देखि सेनाले पृथ्वीजयन्तीका अवसर पारी हरेक वर्ष ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ।

यस वर्ष पनि गोरखाबाट पुस २१ गतेदेखि सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका दरबारमा आइपुगेको छ।उक्त पदयात्रामा सेनाका पृथ्वीनारायण कालिन पाँचवटा पल्टनका झण्डा, राष्ट्रिय झण्डा र दीपज्योति बोकेर सैनिक टोलीले मार्चमा निस्केकोमा निर्धारित यात्रा पूरा गरी आज हनुमान ढोका आइपुगेको छ।

उक्त पदयात्रा टोली बुधबार बाजागाजासहित हनुमान ढोकाबाट निस्केर नगर परिक्रमा पछि जङ्गीअड्डास्थित राष्ट्रनिर्माताको पूर्णकदको शालिक नजिक आयोजना गरिने विशेष समारोहमा सहभागी हुने छ। त्यहाँ सेनाले संस्थापकप्रति सलामीसहित श्रद्धाञ्जलि अर्पण गर्ने छ।

पृथ्वीजयन्तीकै अवसरमा सैनिक मुख्यालयमै नेपाली सेनाव्यापी कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ। सेनाले बुधबार नै त्यहाँ इतिहासविद् र प्राज्ञबाट दिव्यपदेश सम्बन्धमा प्रवचन कार्यक्रमको आयोजना गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलद्वारा अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलिका साथ सम्मान व्यक्त गर्ने कार्यक्रम छ। सरकारले धेरै वर्षपछि पृथ्वीजयन्तीका अवसरमा मुलुकभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियागमा समेत बुधबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ।

हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदै छ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तानका रूपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएको थियो। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जितेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाभएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदै छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।गृह मन्त्रालयले मंगलबारै सूचना जारी गरी आज बुधबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।

यही पुस २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबमोजिम आज सार्वजनिक बिदा दिइएको हो। पृथ्वी जयन्तीका अवसरमा आज नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। आज (२७ पुस) मा देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ। सो अवसरमा राप्रपाले राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रमहरू आयोजना गरेको हो।

‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजे अध्यक्ष लिङ्देनले माल्यापर्ण गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

त्यसपछि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा रक्तदान, कवि गोष्ठि र जलपान समारोहको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए। समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो।उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो। नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ।

राष्ट्रनिर्माता पृथ्यीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकारले राप्रपाको मात्र नभई बहुसङख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई धन्यवाद दिएका छन्। उनले सरकारको यो निर्णय र राप्रपाको विगत लामो समयदेखिको मागको सम्बोधनका कारण पनि

भोलि देशव्यापीरूपमा पृथ्वीनाराण शाहको जन्मजयन्ती भव्यरूपमा मनाइने र राप्रपाले आयोजना गरेको जलपानमा पनि नेपालका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने विश्वास व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन्।

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छिन्।

‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि उनले उल्लेख गरेका छन्। ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौँसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले

नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ। वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भनिएको छ।

‘आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु’, शुभकामना सन्देशमा उल्लेख छ।

राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छिन्। उता झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दैगर्दा सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक देखिन्छ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताँछन्।‘कन काई नगरपालिकामा धेरैपटक पुगेको छु,

मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ’, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहिसक्नुभएका ओझा भन्छन्, ‘सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ। तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग¥यो।’

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए। ‘कम्युनिष्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड्याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे’,

सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भन्छन्, ‘दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित हुनुहुन्छ।’ पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ।

गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो। नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै लैजाएका थिए। उनी यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएका हुन्।

‘मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो’, उनले भने, ‘बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक हुनुभयो।’

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो। झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन्। नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।

नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन्। यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिए।

नगरभित्रका विद्यालय प्रतियोगितामा सहभागी थिए। आफ्नै बजेटमा पृथ्वीनारायण शाहको सालिक बनाउने कनकाई नगरपालिका नेपालकै पहिलो पालिका भएको उनले दाबी गरे। झापाको कचनकबल गाउँपालिकाले समेत वडा नंं ५ पाठामारीमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ।

पूर्वअध्यक्ष अन्जार आलमले वडा कार्यालयले जग्गाको व्यवस्था मिलाएपछि पालिकको रु छ लाख बजेटबाट सालिक निर्माण गरिएको जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पूर्वअध्यक्ष आलमले पार्टीले नै पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक र राष्ट्र निर्माताको रूपमा सम्मान गर्ने नीति लिएको हुँदा सालिक बनाइएको बताए।

आदिवासी राजवंशी र मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको कचनकबलमा निर्मित पृथ्वीनारायण शाहको सालिकमा हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रमको आयोजना हुने गरेको छ। झापाको अर्को गाउँपालिका हल्दिबारीले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मानमा बर्सेनि स्थानीय बिदा दिँदै आएको छ।

मुलुक सङ्घीयतामा प्रवेश गरेपछि नेपालमै पहिलोपटक हल्दिबारीले पृथ्वी जयन्तीमा बिदा दिने परम्पराको थालनी गरेको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए। विगत वर्षदेखिको यो बिदाको परम्परा यसपालि पनि कार्यान्वयन भइरहेको छ। पालिकाका अध्यक्ष लिङ्देनले आफ्नो कार्यकक्षमा विगत पाँच वर्ष अघिदेखि नै पृथ्वीनारायण शाहको तस्वीर राख्दै आएका छन्।

पुस २७ गते स्थानीय बिदा दिने निर्णय उनले सुरुआत गरेपछि झापाको कचनकबल र गौरीगञ्जमा समेत स्थानीय बिदा दिने गरिएको थियो। कार्यकक्षमा राष्ट्रनिर्माताको फोटो राख्ने हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन यसअघि र अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट

निर्वाचित जनप्रतिनिधि छन्। नगरपालिकाको प्रवेशद्वारमा सालिक राख्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि दुवै कार्यकाल नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment