पोखरा । सहकारीले बजारमा प्रवाह कर्जा पनि उठाउन सकेको छैन । आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।
सहकारीले बजारमा प्रवाह कर्जा पनि उठाउन सकेको छैन । आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका छन् ।
केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहेका श्रेष्ठ एकाएक विवादमा मुछिएपछि उनले बिहीबार पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले सहकारीमा समस्या रहेको स्वीकार गरे । आफूलाई फसाउन खोजिएको उनको दाबी छ ।
सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए ।
रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुगे ।चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको हो ।उनै श्रेष्ठ अहिले सहकारीको आर्थिक विवादमा मुछिएका हुन ।
हुन त उनले सांसद बन्नुअघि गत कात्तिकमा नै सहकारी छाडेका थिए । तर, सहकारीको नियम प्रक्रिया केही नबुझेको नयाँ कार्यसमिति र पुरानो कार्यसमिति बिचतको समन्वय अभावका कारण सहकारीको कारोबार नै प्रभावित बनेको थियो ।डा. श्रेष्ठ आफैँले नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुपर्नेमा आफूलाई थाहा नभएका कारण नगरेको बताएका छन् ।
सहकारीले विशेषत किसानहरूसँग पोल्ट्रीको काम गर्ने गर्थ्यो । यो सहकारीका सेयरधनी पनि किसानहरू नै छन् । संस्थाले १० हजार, २५ हजारदेखि लाखौँ रुपैयाँसम्म १०५ जना सेयरधनीबाट उठाएको उनले बताए ।२०५९ सालमा स्थापित यो सहकारीले बचतकर्ताहरूको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
तर, रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन । सहकारी बन्द भएसँगै बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गर्न पोखरा महानगरपालिकाको सहकारी महाशाखा गुहारेका थिए । उनीहरूले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए ।
यता डा. श्रेष्ठले भने बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गरे । शुक्रबार नै आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।सहकारीमा कुनै समस्या नरहेको दाबी गरेपनि पत्रकार सम्मेलनमा नै सहकारीको विषयमा उनकै अगाडि फरकफरक कुरा सार्वजनिक भएका छन् ।
यता सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन् । उनले २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे ।
“२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो । त्यसपछि मैले सहकारी छाडेँ,” उनले भने ।बस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपत्कालीन बैठक डाक्दासमेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको बताए ।
उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । “मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । यदि उनीहरूले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन । संस्थाको अडिटमा समेत समस्या छ ।
ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो,” उनले भने उनले सहकारीबाट बिना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेस भएको दाबी गरे ।संस्थाका वर्तमान अध्यक्ष डा. शनि पाठकले बिहीबार आफूहरू संस्थामा आउँदा माइन्युटमा प्रतिमहिना ५/६ लाख रुपैयाँ नाफामा गएको देखाइएको बताएका थिए ।
“प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो,” डा. पाठकले भने, “अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?,” उनले भनेका छन् ।यता सांसद श्रेष्ठले भने नियोजित रूपमा आफूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सांसद श्रेष्ठले लेखेका छन्, “मैले पार्टी र चुनावमा लाग्नु पूर्व नै राजीनामा दिएको संस्थाको विषयलाई नाटकीय ढंगबाट उठाएर नियोजित रूपमा मेरो नाम बदनाम गर्न खोजियो । खाएको विष पो लाग्छ । जबरजस्ती मेरो चरित्र हत्या गर्न केही मान्छेहरू लागेको प्रष्ट छ ।
होइन भने मैले राजीनामा दिए पछी सो संस्थामा के भयो कसो भयो सो को जिम्मेवारी र जवाफदेही म कसरी हुने ? जुन संस्था फाइदा घाटा के मा छ छैन त्यसको जिम्मेवार कसरी हुने ?”उनले सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर बुझाएको बताएका छन् ।
पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले जारी गरेको विज्ञप्तिमा पनि डा. श्रेष्ठले सबै कुरा नबिगारेको उल्लेख गरिएको छ । उनले आफूलाई फसाउन खोज्नेहरूको अडिट रिपोर्ट पनि रहेको दाबी गरे, तर सार्वजनिक भने गरेनन् ।
Leave A Comment