Latest
img

एभरेष्ट बेसक्याम्प जाने मन छ: अभिनेत्री साम्राज्ञी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् ।होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन ।

मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।साम्राज्ञी फिल्मकै सुटिङका लागि मनाङ, मुस्ताङ, पोखरा, तिलिचो ताललगायतका स्थानमा पुगिसकेकी छन् । ‘मलाई अब एभरेष्ट बेसक्याम्प जाने मन छ ।फिल्मको कामबाट फुर्सद पाउनासाथ जाने सोच बनाएकी छु ।

विश्वकै अग्लो स्थान भएकाले पनि त्यहाँ जीवनमा एकपटक पुग्न मन छ’, उनी भन्छिन्, ‘म नेपालमै जन्मेर त्यहाँ पुगेको छैन। तर त्यहाँ पुग्नकै लागि विश्वबाट मान्छे आउँछन् । सायद उनीहरू आएको देखेर पनि हो कि मलाई त्यहाँ जाने लोभ एकदमै छ ।’

साम्राज्ञीले विदेशको हकमा जापान, लण्डन, अष्ट्रेलिया र फिलिपिन्स घुमिसकेकी छन् । शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘तिम्रो मेरो साथ’को प्रिमियरका लागि उनी अमेरिका जाने तयारीमा छिन् । यसबाहेक अमेरिकामै हुन लागेको नेफ्टा अवार्डमा पनि उनी उपस्थिति जनाउँदैछिन् ।

साम्राज्ञीलाई इटाली र ग्रीस एकदमै जान मन लागेको देश हो । ‘ग्रीस इतिहासले गर्दा घुम्न जान मन लागेको ठाउँ हो । ग्रीसको इतिहासका बारेमा स्कुल र कलेजमा पढेकी छु ।त्यसबारे थप अध्ययन गर्न पनि मलाई त्यहाँ पुग्न मन छ’, साम्राज्ञी खुल्छिन्, ‘इटाली चाहिँ आफैंमा कलरफूल देश हो ।

यो देश ब्राइट, रोमान्टिक र फिल्मी शैलीको लाग्छ । त्यसकारण यहाँ पनि पुग्ने मन छ ।’घुमन्ते बानीले आफ्नो जीवनमा केही परिवर्तन आएको अनुभव साम्राज्ञीमा छ । दिमागमा कुनै कुरा नराखी घुम्नाले पनि आफू समाज र स्थानीयसँग घुलमिल भएको उनको दाबी छ ।

‘म केही सीमा निर्धारण नगरी घुम्छु । किनकी सीमा निर्धारण गर्दा नयाँ कुरा हेर्न पाइदैन । त्यसकारण खुला दिमागले घुम्न रुचाउँछु’ उनी भन्छिन्, ‘घुम्दा धेरै कुरा सिक्न पाइदो रहेछ ।‘ए यस्तो पनि हुन्छ ?’ भन्ने धेरै कुरा देख्न पाएकी छु । मैले खानेकुरामा परिवर्तन पाएकी छु ।

फरक फरक स्थानका खानाले स्वाद पनि फेरिदिएको छ । मैले पहिलो पटक मुस्ताङमा सिस्नो खाएको थिएँ । त्यहाँको होटलको दिदीले दुधमा हालेर सिस्नो दिनुभएको थियो । घुम्दाको अर्को फाइदा भनेको स्थानीयको बोली र व्यवहारलाई नजिकबाट बुझ्नु पनि हो ’

फिल्मको सुटिङ हेर्न भीड नलाग्ने कुरै हुँदैन । त्यो भीडले साम्राज्ञीको घुम्ने कामलाई अवरोध गरेको छैन । ‘फिल्म सुटिङबाहेकको भीडमा म जादिनँ ।गएको अवस्थामा पनि नचिन्ने गरी स्कार्फ, टोपी लगाएर अलग्गै बस्छु । कसैले मलाई चिन्नु भएर फोटो खिच्न अनुरोध गर्नुभयो भने त्यसमा स्वीकृति दिन्छु’, उनी भन्छिन् ।

साम्राज्ञीले बाल्यकालमा केही समय भाई र साथीसँग घुम्ने अवसर पाइन् । अहिले उनको भाई अध्ययनरत रहेकाले घुमाईको कारण भाईको पढाईमा अवरोध नहोस् भन्ने उनको चाहना छ ।सोहीकारण अहिले फुर्सदमा उनी साथीभाईसँग घुम्न निस्किन्छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment