काठमाडौं ।
सत्तागठबन्धनमा आसन्न चुनावका लागि सिटको हानथाप भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दिमाग घुमाएको छ । उसले गज्जबको प्रस्ताव अघि सारेको हो ।
यो प्रस्तावलाई पार्टीका नेताकार्यकर्ता नभई स्वतन्त्र जनताले समेत साथ दिएका छन् । सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ ।
‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।
यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।
तर, गठबन्धनका अन्य दलहरू नै कांग्रेसलाई बहुमतप्राप्त गर्नबाट रोक्न खोजिरहेका छन् । यसका लागि सीट बाँडफाँटमै ‘लगाम’ लगाएर चुनावमा जाने उनीहरूको रणनीति छ ।
यही कारण सीट बाँडफाँटको विषय कांग्रेसका लागि टाउको दुखाई बनेको छ । यसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भूमिका खेलिरहेका छन् । माओवादी केन्द्रले कांग्रेसलाई ८० सीटमा रोक्न चाहेको छ ।
त्यसो हुँदा कांग्रेसले ७० सीटमै जितेपनि आफू निर्णायक शक्ति हुने उसको बुझाई छ । अर्कातिर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई ७० सीटभन्दा बढी छाड्न नसकिने अडानमा छन् । उनको पार्टीले पनि ४० सीट मागिरहेको छ ।
यस्तै कांग्रेसको बलियो जनाधार रहेको मधेसमा जनता समाजवादी पार्टीले ३२ मध्ये २० सीटसहित देशका अन्य ठाउँबाटगरी समग्रमा ३२ सीट मागिरहेको छ ।
एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ ।
यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ११ सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।
कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ । एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए ।
कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।
एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् । तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।
एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं ।
कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ । source: praharnews
Leave A Comment