Latest
img

सर्वोच्चलाई गृहमन्त्री लामिछानेको जवाफ: त्याग्दै नत्यागेको नागरिकता फेरि लिनुपर्दैन

नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका गृहमन्त्री रवि लामिछानले आफूले नेपाली नागरिकता नत्यागेकाले पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा गरिराख्नु नपर्ने जवाफ पठाएका छन्। गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता लिएर उक्त नागरिकता नत्यागेसम्म

आफ्नो नेपाली नागरिकता कायम नरहेको चाहिं उनले सर्वोच्चलाई पठाएको जवाफमै स्विकारेका छन्। वारेस अधिवक्ता मोहम्मद आफताव आलम मार्फत पठाइएको जवाफमा लामिछानेले लेखेका छन्, ‘मैले अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता ऐन अनुसार कायम नरहने अवस्थासम्म हो।

मैले ऐनको दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकता नत्यागेको हुँदा नियम ९ को कार्यविधि मेरो हकमा यहाँ प्रासंगिक छैन।’ नेपाली नागरिकता नत्यागेको हुनाले पुनः कायम गराउने प्रक्रियामा जानै नपर्ने पनि लामिछानेको तर्क छ। नेपाल नागरिकता ऐनको

दफा १० को उपदफा १ मा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने व्यवस्था छ भने उफदफा २ मा नागरिकता त्याग्ने सूचना तोकिएको अधिकारीले दर्ता गरेपछि निष्क्रिय हुने व्यवस्था छ। ऐनको यो व्यवस्थाको विस्तृत नागरिकता नियमावली, २०६३ मा छ।

नियमावलीको नियम ९ मा नेपाली नागरिकता त्याग गर्ने कार्यविधि तोकिएको छ। जस अनुसार, नेपालमै बसोबास गरेकाले प्रमुख जिल्ला अधिकारी र विदेशमा रहेकाले राजदूत, नियोग प्रमुख, महावाणिज्यदूत वा वाणिज्यदूत समक्ष सूचना दिनुपर्ने उल्लेख छ।

यो प्रक्रियाबाट आएको सूचना नागरिकता जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीले दर्ता गरेपछि नागरिकता निष्क्रिय हुने उल्लेख छ। लामिछानले २०७० फागुन ९ गते अमेरिकी नागरिकता लिए पनि यसको जानकारी कुनै निकायमा दिएनन्। आफू यो प्रक्रियामै नगएकाले आफ्नो नागरिकता कायमै रहेको लामिछानले सर्वोच्चलाई पठाएको जवाफमा जिकिर गरेका हुन्।

यसका साथै यस्तो प्रक्रियामा नगएकाले नेपाली नागरिकता फेरि लिन ‘के कस्तो कार्यविधि हुनु्पर्छ’ भन्ने नियमावलीमा स्पष्ट नभएको पनि लामिछानेले दाबी गरेका छन्। ऐनको दफा ११ मा विदेशी नागरिकता लिएकाले फेरि नेपाली नागरिकता लिन पुनः नेपालमा आई बसोबास गरेको, विदेशी नागरिकता त्यागेको निस्सा बुझाएर दर्ता हुनुपर्ने व्यवस्था छ।

ऐन कार्यान्वयनको विधि नियमावलीको नियम ११ मा छ। नियमावलीको पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिमा विदेशी नागरिकता त्यागेको निस्सा सहितको निवेदन पहिले नागरिकता लिएको कार्यालयमा दिनुपर्ने व्यवस्था छ। आफूले २०७५ असार ६ गते अमेरिकी नागरिकता त्यागेको निस्सा गृह मन्त्रालय मातहतको अध्यागमन विभागमा बुझाएको लामिछानेले बताएका छन्।

अध्यागमनमा बुझाएको कागजपत्र गृह हुँदै प्रेस काउन्सिलमा अद्यावधिक भएको पनि जवाफमा लेखेका छन्। यस्तो कागजपत्र बुझाएपछि कसैको निर्णय वा स्वीकृति विनै पुनः नागरिकता कायम हुने पनि लामिछानेले दलिल गरेका छन्। राज्यद्वारा प्रदान गरिएका सबै हक अधिकार नेपाली नागरिककै हैसियतमै उपभोग गरेकाले पनि आफ्नो राष्ट्रियतामाथि शङ्का नगर्न उनले जिकिर लिएका छन्।

अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले निष्क्रिय भइसकेको नागरिकता कानूनी हैसियतमा नजगाई प्रयोग गरेर लामिछानेले पदीय हैसियत प्राप्त गरेको भन्दै रिट हालेका थिए। पदमा रहन अयोग्य भन्दै अन्तरिम आदेशको माग गरेपछि सर्वोच्चको संवैधानिक इजलासले कारण देखाउ आदेश सहित लिखित जवाफ मागेको थियो।

निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। तर, आयोगले सुनुवाइ नगरी टारिदिएको थियो। त्यसपछि यो मामिला अदालतमा छिरेको हो। लामिछानेको नागरिकताकै विषयमा गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धानका लागि पत्राचार गरेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment