देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएपछि घरजग्गा कारोबार पनि बढ्न थालेको छ । पुस महिनामा देशभरी ३८ हजार ८७१ घरजग्गा किनबेच भएका छन्, जुन अघिल्ला महिना मंसिरको तुलनामा करिव १० हजारले बढी हो । मंसिरमा देशभरी २९ हजार घरजग्गा किनबेच भएका थिए ।
भूमि व्यवस्था मन्त्रालयले भूउपयोग नियमावली २०७९ लागू गरेर कृषि र गैरकृषि भनेर वर्गीकरण नगरेको जग्गा कित्ताकाट नगर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशन दिएको थियो । त्यसयता क्रमशः घरजग्गा किनबेच घट्दै गइरहेको थियो ।
त्यसमा झन बैंकमा तरलता अभाव र चर्को ब्याजदरले घरजग्गा किनबेच झन सुस्ताएको थियो । पछिल्ला महिनामा घरजग्गामा बैंकको कर्जा प्रवाह निरन्तर घट्दै गइरहे पनि घरजग्गा किनबेच भने बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।कुनै महिना ८७ हजारसम्म घरजग्गा किनबेच हुने गरेकोमा घरजग्गा व्यवसायमा मन्दी छाएपछि २५ हजारसम्म झरेको थियो ।
सरकारले जग्गाको कित्ताकाटमा कडाई, तरलता अभाव, बढ्दो ब्याजदर, महंगी, घरजग्गामा कर्जामा कडाई लगायत कारणले घरजग्गा व्यवसायमा मन्दी छाएको हो ।तर, पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ भने एक सय भन्दा बढी स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरेपछि कित्ताकाट पनि खुलेको छ ।
अरु स्थानीय तहहरुले पनि धमाधम जग्गाको वर्गीकरण गरिरहेका छन् । जसले गर्दा घरजग्गा किनबेच क्रमशः बढ्दै गइरहेको हो ।पुस महिनाको घरजग्गा किनबेच चालु आर्थिक वर्षको पाँच महिनाकै धेरै हो । चालु आवको साउनमा देशभरी ३३ हजार ८ सय ३४, भदौमा ३४ हजार ७२०, अशोजमा २५ हजार ७८९, कार्तिकमा २७ हजार ९३९ र मंसिरमा २९ हजार १८१ घरजग्गा कारोबार भएका थिए ।
अब घरजग्गामा क्रमशः सुधार आउँदै जाने संकेत देखिन थालेको छ । नयाँ सरकार बनेसँगै सुस्ताएको शेयर कारोबार पनि उछालिन थालेको छ ।घरजग्गा कारोबार बढेसँगै मालपोत राजश्व पनि बढेको छ । पुसमा देशभरीका मालपोत कार्यालयबाट विभिन्न शिर्षकमा चार अर्ब ८१ करोड रुपैयाँ राजश्व उठेको छ ।
मंसिरमा दुई अर्ब ६५ करोड रुपैयाँ मात्र राजश्व उठेको थियो ।पुसमा उठेको राजश्वमध्ये रजिष्ट्रेशन दस्तुरवापत एक अर्ब ९० करोड, पुँजीगत लाभकर एक अर्ब १७ करोड र बाँकी अन्य शिर्षकमा रहेको छ ।पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच सुनसरीको इनरुवा मालपोतबाट भएको छ ।
एक महिनामा इनरुवामा १५ सय ६३ घरजग्गा किनबेच भएका छन् । यस्तै, १५ सय ४६ घरजग्गा किनबेच गराइ बाँकेको नेपालगञ्ज मालपोत कार्यालय दोस्रो बनेको छ ।पुसमा झापाको भद्रपुरमा ११ सय २४, मोरङको विराटनगरमा १ हजार ५७, मोरङको बोलवारीमा ११ सय ९८,
धनुषाको जनकपुरधाममा १२ सय ५३, ललितपुरको लगनखेलमा एक हजार ३२, कपिलवस्तुको तौलिहवामा ११ सय ४४, दाङको घोराहीमा ९ सय ४४, धनगढीको कैलालीमा ११ सय ६५ घरजग्गा किनबेच भएका छन् ।
Leave A Comment